नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे परराष्ट्रमन्त्री खनालले चर्चा गरेका थिए।
यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरे।
मन्त्री खनालले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहने विश्वास व्यक्त गरेका थिए।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।