राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले आमा सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा विस्तार गर्न माग गरेकी छिन्।
हाल देशका १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरिन्।
'अस्पताल पुगेर पनि बाहिर चिसो भुइँमै बबिता पासवानले बच्चा जन्माउनु परेको घटनाले हाम्रो सुरक्षित मातृत्व र आमा सुरक्षा कार्यक्रम पूर्ण कार्यान्वयन नभएको कुरा स्पष्ट पारिसकेको छ', प्रतिनिधि सभा बैठकमा दर्शनाले भनिन्, 'यसले सम्पूर्ण आमाहरुलाई झस्काएको छ। आमा तथा नवजात शिशु लिएका हरेक अस्पतालले प्रसूति सेवा नि:शुल्क दिनैपर्छ।'
उनले आमा तथा नवजात शिशु कार्यक्रम लिएका अस्पतालहरुले आधारभूत रगत परीक्षण र अल्ट्रासाउण्ड निशुल्क दिने गरेको उल्लेख गरिन् ।साथै 'एनामोली स्क्यान'पनि निशुल्क बनाउन माग गरिन्।
'हाल १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम भएको तथ्याङ्क छ', दर्शनाले भनिन्, 'तसर्थ यो संख्या बढाउन र देशभर प्रसूति सेवा दिने सबै संस्थाको पूर्ण अडिट गरी आमा सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा विस्तार गर्न माग गर्दछु।'
आमा तथा नवजात शिशु कार्यक्रम सञ्चालन भइरहेका १४५ अस्पताल मध्ये १ सय १५ वटा सरकारी अस्पताल हुन्। निजी तर्फ केवल २० अस्पतालले यस्तो सेवा दिएका छन्। ७ वटा गैरसरकारी र २ वटा शिक्षण अस्पताल छन्।