विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठकले दुईवटा निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्न पहल गर्ने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधि सहभागी थिए।
सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी थिए।
बैठकले हाल कायम रहेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार, संसद्, राज्यका सम्बन्धित निकाय, राजनीतिक दल र सरोकारवालाबीच नीतिगत तथा कार्यान्वयनगत समन्वय आवश्यक रहेको भन्दै संयन्त्रलाई निरन्तरता दिने निर्णय गरिएको हो।
उक्त संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति लामिछानेले सम्हाल्नेछन्। संयन्त्रमा बैठकमा सहभागी दलहरूका शीर्ष तथा महत्त्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहनेछ।
त्यस्तै, भोटेकोशी विपद्बाट सिकेको पाठका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘सर्वदलीय संसदीय विशेष समिति’ एक साताभित्र गठन गर्न पहल गर्ने निर्णय भएको छ।
समितिले विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु कूटनीतिसम्बन्धी दीर्घकालीन कार्यदिशामा सरकार, संसद् र सरोकारवाला निकायबीच समन्वय गर्नेछ।
साथै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनको समीक्षा गर्ने र आवश्यक कानुन निर्माणका लागि संसद्मा पहल गर्ने जिम्मेवारी पनि समितिलाई दिने निर्णय भएको छ।
समितिको गठन तथा आवश्यक व्यवस्थापनका लागि सभामुख र संघीय संसद्समक्ष अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।