नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय गरिएको बैठक स्थगित भएको कार्यदलका एक नेताले जानकारी दिए।
आजको बैठकबाट दुवै प्रतिवेदनमाथि छलफल गरी प्रस्ताव ल्याउने कार्यसूची थियो। तर कार्यदल संयोजक रहेका पार्टी उपाध्यक्ष रामबहादुर थापा 'बादल' एक्लैले अन्तिम प्रस्ताव लेखनको जिम्मा लिन खोजेपछि बैठक नै स्थगित गरिएको ती सदस्यले जानकारी दिए।
'दुवै प्रतिवेदनलाई आधार बनाएर अन्तिम प्रस्ताव तयार पार्ने भन्ने थियो। संयोजकले अडान नछाड्दा बैठक नबस्ने भयो,' ती नेताले भने।
पार्टीका तल्ला कमिटीहरूबाट सुझाव संकलन गरी कार्यदल सदस्य सचिव एवम् पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा छलफल गरी प्रस्ताव ल्याउन काभ्रेको बल्थलीमा कार्यदलको बैठक बसेको थियो।
तर बल्थलीको बैठकमा उपाध्यक्ष थापाले आफै संयोजक रहेको कार्यदलको प्रतिवेदनको काउन्टरमा अर्को प्रतिवेदन पेस गरेका थिए।
उनले पेस गरेको प्रतिवेदनमा कार्यदलमाथि नै प्रश्न उठाइएको थियो। कार्यदलले अध्यक्षलाई जसरी पनि हटाउन खोजेको आरोप लगाउँदै काउन्टर प्रतिवेदन तयार पारेका थिए।
संयोजकले नै काउन्टर प्रतिवेदन ल्याएपछि बल्थलीको बैठकले दुवै प्रतिवेदनलाई आधार बनाएर अन्तिम प्रस्ताव लेख्न बादलसहित अर्का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहने गरी सानो कार्यदल बनाएको थियो।
तीन जनाको अर्को कार्यदल बनाइए पनि अन्तिम प्रस्ताव लेख्ने जिम्मेवारी संयोजक थापा आफैले लिन खोजेपछि बैठक स्थगित भएको हो।