नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दैछ।
१४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेपछि यो केन्द्रीय समिति बैठक बस्न लागेको हो।
यो बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवानिकट ५१ जना नेताहरू पनि सहभागी हुने भएका छन्। उनीहरूलाई बैठकमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यालयले पत्र नै पठाएको थियो।
यीमध्ये केही नेता आफ्नो गृह जिल्ला पनि गइसकेका छन्। असोज ३ र ४ मा वडा अधिवेशन हुँदैछ। यसपालि केन्द्रीय सदस्य स्वत: महाधिवेशन हुने व्यवस्था हटाइएकोले वडादेखि नै निर्वाचित भएर आउनुपर्छ।
निवर्तमान सभापति देउवानिकट ५१ निवर्तमान केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि मनोनीत केन्द्रीय सदस्यको हैसियतमा आजको बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ। निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठोरसहित नेताहरू आज बैठकमा सहभागी हुने बताइएको छ।
समहामन्त्री उदयशम्शेर राणाले विशेष महाधिवेशनबाट आएको कार्यसमिति र हालै केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सभापति गगन थापाले मनोनीत गरेका १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूबीच आज बैठक गर्न लागिएको जानकारी दिए। उनकाअनुसार निवर्तमान सभापति देउवा पक्षनिकट ५१ नेता केन्द्रीय समितिमा आउनेछन्।
ती नेताहरू संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा भाग लिन केही दिनअघि सहमत भएका थिए। गत पुसको विशेष महाधिवेशनमा भाग नलिएका निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका यी नेता केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेका हुन्।
सहमहामन्त्री राणाले संस्थापनइतर पक्षका सबै माग पूरा भइसकेकोले अब चुनदेवीमा बस्नुपर्ने अवस्था नरहेको पनि बताए। पार्टीलाई एकताबद्ध बनाएर गगन थापाकै नेतृत्वमा आफूहरू अघि बढ्ने उनको भनाइ छ। ‘सभापति गगन थापाजी पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा हुनुहुन्छ, अझै समय छ, चुनदेवीमा साथीहरू बस्न जरूरी छैन, सानेपा आउनुहोस्,’ उनले बिहीबार बिहान पत्रकारहरूसँगको कुराकानीमा भने।
शीर्ष नेताहरूलाई वडामा गएर चुनिएर आउन अप्ठेरो लागेका खण्डमा सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न सक्नेतर्फ संकेत गर्दै उनले सबैलाई एकताबद्ध बनाएर लगिने बताए।