राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो।
उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए।
समितिको प्रतिवेदन प्रतिनिधि सभाको आजै बस्ने बैठकमा पेस गर्ने उनले बताए।
प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशन दिए।
समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ। –न्युज एजेन्सी नेपाल