अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धको आगामी रणनीतिबारे खाडी देशका नेताहरूसँग छलफल गर्ने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आगामी मंगलबार न्युयोर्कमा ट्रम्पले खाडी सहयोग परिषद् (जीसीसी) का नेताहरूसँग भेटवार्ता गर्ने तयारी रहेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
बैठकमा युद्धपछि इरानसँग कसरी अघि बढ्ने भन्ने अमेरिकी योजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।
ट्रम्प र उनका वरिष्ठ अधिकारीहरूले युद्धपछिको अवस्थाका लागि ‘डे–आफ्टर’ योजना बनाइरहेका छन्।
उक्त योजना अमेरिकी मध्यावधि निर्वाचनपछि अन्तिम रूप दिने अपेक्षा गरिएको एक्सियसले जनाएको छ।
बैठकमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत र ओमानका नेता वा विदेशमन्त्री सहभागी हुने अपेक्षा गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रारम्भिक निमन्त्रणा पठाइसकेको एक स्रोतले बताएको छ।
बैठकमा अन्य अरब तथा मुस्लिम देशका नेताहरूलाई पनि सहभागी गराउन सकिने बताइएको छ।
इरानसँगको युद्धका क्रममा अमेरिकी सैन्य आधार रहेका खाडी देशहरूले इरानी आक्रमणको सामना गर्नुका साथै तेल तथा प्राकृतिक ग्यास निर्यातमा आएको अवरोधका कारण आर्थिक क्षतिसमेत बेहोरेका छन्।
त्यसैले युद्धपछि क्षेत्रको सुरक्षा र आर्थिक अवस्थाबारे पनि खाडी देशहरूको चासो रहने अपेक्षा गरिएको छ।
ट्रम्पले बुधबार इरानसँगको युद्ध अन्त्यतिर पुगेको आशा व्यक्त गरेका थिए। उनले इरान सम्झौता गर्न चाहिरहेको र यसबारे अमेरिकाले इरानबाटै प्रत्यक्ष जानकारी पाएको दाबीसमेत गरेका थिए।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि न्युयोर्कमा ट्रम्पसँग भेट गर्न चाहेको इसराइली स्रोतले बताएको छ। तर दुई नेताबीच भेटवार्ता तय भइसकेको छैन।
गत वर्षको संयुक्त राष्ट्रसंघ महासभाका क्रममा पनि ट्रम्पले आठ अरब तथा मुस्लिम देशका नेताहरूसँग भेट गरेका थिए।
त्यस क्रममा उनले गाजामा शान्ति स्थापनाका लागि तयार गरिएको आफ्नो मस्यौदा योजना नेताहरूलाई प्रस्तुत गरेका थिए।
त्यसको एक सातापछि उनले योजना सार्वजनिक गरेका थिए र त्यसको केही समयपछि युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो।
ह्वाइट हाउसले ट्रम्प र खाडी नेताबीच प्रस्तावित भेटवार्ताबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।