प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा सिर्जना भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची आयोजना प्रभावित पीडित तथा स्थानीय भेन्डरहरूले पुन: आन्दोलनको घोषणा गरेको जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
आयोजना प्रभावित क्षेत्रका पीडित तथा स्थानीय भेन्डर सङ्घर्ष समितिले आयोजना स्थलमा कुनै पनि गाडी तथा कर्मचारी प्रवेश गर्न नदिने गरी आन्दोलन घोषणा गरेको बताउँदै सांसद दुलालले यसबाट काठमाडौंमा खानेपानी आपूर्तिको निरन्तरतामा गम्भीर समस्या पैदा हुने चेतावनी दिए।
'मेलम्ची बाढी प्रभावित र स्थानीय भेन्डर पीडित सङ्घर्ष समितिले यसअघि पनि पटक-पटक मुहानमा पुगेर पानी पथान्तरण बन्द गराएपछि सरकारले करिब एक दर्जन पटक सम्झौता गरिसकेको छ,' उनले भने, 'बाढी पीडितहरूले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक र नदी कटान नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन् भने स्थानीय भेन्डरहरूले पाउनुपर्ने भुक्तानीलाई प्रमुख माग बनाएका छन्।'
पीडितका माग सम्बोधन नहुँदा स्थानीयवासी पुन: आन्दोलनमा उत्रिनुपर्ने र जनप्रतिनिधिहरूले राय गौरवको आयोजनामा अवरोध भएको हेर्नुपर्ने दुखद स्थिति दोहोरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
'पीडितको पक्षमा उभिँदा पानी पथान्तरण रोकिने र नलाग्दा पीडितहरू निरन्तर अन्यायमा परिरहने अवस्था बनेको छ,' उनले भने।
यस समस्याको दीर्घकालीन र तत्काल समाधानका लागि सांसद दुलालले संसद मार्फत सरकारसमक्ष दुईवटा प्रमुख माग राखेका छन्।
उनले मेलम्चीदेखि हेलम्बु-मेलम्ची हेडवर्क्स सम्मको बाटो र मेलम्चीदेखि पाँचपोखरी भोताङ सम्मको बाटोलाई तत्काल बहुवर्षीय ठेक्कामा लैजानुपर्ने माग गरेका छन्।
साथै, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम र आयोजना अघि बढाउनुपर्ने बताएका छन्।
भेन्डरहरूसँगको सहमति कार्यान्वयन सरकारले स्थानीय भेन्डरहरूसँग यसअघि गरेका सम्झौता र सहमतिहरू कार्यान्वयन गर्न उहाँहरूलाई अविलम्ब वार्तामा बोलाएर समस्या समाधान गर्न माग गरेका छन्।
सरकारले विगतका सम्झौताहरू पालना नगरेकै कारण स्थानीयवासी र भेन्डरहरू पुन: आन्दोलनमा उत्रिन बाध्य भएको भन्दै उनले यो समस्या अविलम्ब समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।