सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले बाढीपछि विभिन्न देश र संघसंस्थाले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले कार्गोमा थन्किएका सामानहरूको फोटो देखाउँदै बाढीपछि विदेश र अन्तर्राष्ट्रिय संघ संस्थाले दिएको सामग्रीहरू अलपत्र अवस्थामा रहेको बताएका हुन्।
त्यसबारेमा कर्मचारीहरूसँग बुझेको उनले बताए।
'त्यहाँका कर्मचारीहरूले कोरोनाका बेला २० कन्टेनर सामान खेर गयो । अहिले पनि आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ भन्ने जबाफ दिनुभयो,' उनले भने।
जिटुजीमार्फत आएको सामान थन्को लगाएर राखिएको र संघ संस्थाबाट आएका सामग्रीहरू सम्बन्धित पक्षले बुझ्न जाँदा भन्सार लाग्छ भनिदिएको र त्यसपछि कोही नआएको उनले बताए।
'सामान किन नपठाएको भन्दा सम्बन्धित ठाउँबाट माग आएको छैन भनिएको छ। सरकारको ध्यानाकर्षण गराउँछु जसरी आए त्यसरी खेर नजाओस्। माग छ कि छैन सम्बन्धित क्षेत्रका नागरिकहरूसँग बुझियोस्। माग छैन भने व्यवस्थापन गरियोस्,' उनले भने, 'अहिले आवश्यकता छ छैन बुझियोस्। एयरपोर्टमा सामान अलपत्र हुने र नागरिकहरूले नपाउने समाचार सुन्न नपरोस्।'