प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलियाले धादिङ सदरमुकाम जोड्ने फुर्केखोलामा बेलिब्रिज हाल्न ढिलाइ भएको भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थपलियाले बाढी गएको २३ दिन बितिसक्दा पनि सरकारले फुर्केखोलामा पुल हाल्ने काम अघि नबढाएको भन्दै प्रश्न गरेकी हुन्।
'मैले यसअघि पनि बारम्बार यही सम्मानित सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवत जावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आखामा पट्टि बाँधेर बसेको छ,' उनले भनिन्।
यस विषयमा धादिङका नागरिकहरूले पनि प्रश्न गर्न थालेको उनले बताइन्।
'के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो,' उनले भनिन्, 'किन्तु परन्तु होइन धादिङको नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ।'
उनले बाढी प्रभावित धादिङ, रसुवा ,नुवाकोटका व्यावसायी तथा आम नागरिकले बैंकबाट लिएको ऋण को ब्याज तथा विद्युत को महसुल पुनर्स्थापना नहुन्जेल सम्म सरकारले मिनाहा गर्नुपर्ने बताइन्।
'पीडितहरुको आधारभूत आवश्यकताको ग्यारेन्टी सरकारले गर्नुपर्छ,' उनले भनिन्।