सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले फरक विचार राखेकै कारण सांसदहरूलाई खुल्लमखुल्ला धम्की आउने गरेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद आचार्यले सांसदहरूलाई सिंहदरबार गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात गर्ने जस्ता धम्की आउने गरेको बताएका हुन्।
उनले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भनेका छन्।
'फरक विचार राखेकै कारण खुल्लमखुल्ला सिंहदरबारकै गेटअगाडि लतार्ने, घिसार्ने घर जलाउने र रक्तपात मच्चाउने जस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनू अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो। अतिवादी धम्की दिनेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर गृहमन्त्री र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको छु,' उनले भने।
उनले तथ्यमा टेकेर बोल्न सांसदहरूलाई सांसदले साहस दिनुपर्ने बताए।
'यस संसदले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस्। भनोस्– बोल्न नडराउनु हामी तिमीसँगै छौं,' उनले भने।