सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई बर्खास्तीसम्मको सिफारिस गरेको छ।
इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि निलम्बनमा रहेका एआइजी दाहाललाई जाँचबुझ अधिकृतले बर्खास्तीसम्मको कारबाही सिफारिस गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार जाँचबुझ अधिकृत तोकिएका एआइजी अञ्जनी पोखरेलले छानबिन प्रतिवेदन बिहीबार बुझाएका थिए।
प्रतिवेदनमा एआइजी दाहाललाई सशस्त्र प्रहरी नियमावली अनुसार बर्खास्तसम्म गर्न सक्ने प्रावधान किटान गरेको छ।
‘प्रतिवेदन बर्खास्तसम्मको किटान गरी आएको छ। यसबारे मन्त्रालयले निर्णय गर्ला,’ मन्त्रालय स्रोतले भन्यो।
एआइजी दाहालले प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको प्रमाण समेत प्रतिवेदनमा संलग्न गरेको छ।
त्यस्तै, उनको बयान पनि लिएर त्यसैसाथ संलग्न गरेको छ। बयानमा उनले इनाम सापकोटासँगको संवाद स्वीकारेका छन्। स्वीकार गर्दा उनले सापकोटा आफ्नो जिल्लाबासी भएको बताएको गृह स्रोतले बतायो।
सशस्त्र प्रहरी नियमावली २०७२ को ११० मा विभिन्न सजाय उल्लेख गरिएको छ। त्यसमा सामान्य र विशेष सजायको व्यवस्था गरेको छ।
सामान्यमा ग्रेड, तलब, बढुवा रोक्का गर्ने, पद घटुवा गर्न सक्नेसम्मका प्रावधान छन्।
त्यस्तै, विशेष सजायमा भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी हटाउने, बर्खास्त गर्ने लगायतका प्रावधान उल्लेख छन्।
नियमावलीको ११३ले सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रावधान छ। यसरी विभिन्न प्रावधान किटान गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो।
यस विषयमा कुन सजाय दिने भन्ने निर्णय गृहमन्त्रालयले लिनेछ।
यसअघि गृहका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविरूद्धको कार्य गरेको उल्लेख गरेको थियो।
एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ पर्दा राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेत पुगेका थिए।