सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ।
आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उनलाई यही असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।
गृह सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन्।
दाहाल चार वर्षे पदावधिका कारण असोज २७ गते अवकाशमा जाँदै थिए।
सशस्त्र प्रहरी बलको नियमावलीमा भएको एक वर्ष अवधि थप गर्न सकिने व्यवस्थालाई आधार बनाएर उनको पदावधि थपका लागि मुख्यालयले गृह मन्त्रालयमा प्रस्तावसमेत पठाइसकेको थियो।
तर अवकाशको एक साताअघि नै उनलाई सेवाबाट हटाइएको छ।
इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि उनी निलम्बनमा परेका थिए। शुक्रबार बिहान दाहाललाई बर्खास्तीसम्मको कारबाही सिफारिस भएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार जाँचबुझ अधिकृत तोकिएका एआइजी अञ्जनी पोखरेलले छानबिन प्रतिवेदन बिहीबार बुझाएका थिए।
एआइजी दाहालले प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको प्रमाण समेत प्रतिवेदनमा संलग्न गरेको छ।
त्यस्तै, उनको बयान पनि लिएर त्यसैसाथ संलग्न गरेको छ। बयानमा उनले इनाम सापकोटासँगको संवाद स्वीकार गरेका छन्।
स्वीकार गर्दा उनले सापकोटा आफ्नो जिल्लाबासी भएको बताएको गृह स्रोतले बतायो।
सशस्त्र प्रहरी नियमावली २०७२ को ११० मा विभिन्न सजाय उल्लेख गरिएको छ। त्यसमा सामान्य र विशेष सजायको व्यवस्था गरेको छ। सामान्यमा ग्रेड, तलब, बढुवा रोक्का गर्ने, पद घटुवा गर्न सक्नेसम्मका प्रावधान छन्।
त्यस्तै, विशेष सजायमा भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी हटाउने, बर्खास्त गर्ने लगायतका प्रावधान उल्लेख छन्।
नियमावलीको ११३ ले सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रावधान छ।
यसरी विभिन्न प्रावधान किटान गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो।
एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ पर्दा राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेत पुगेका थिए।
चोलेन्द्र र इनामसँग सम्पर्कका कारण निलम्बनमा परे सशस्त्रका एआइजी वंशीराज दाहाल