भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक सञ्चालन गर्ने अनुमति प्रक्रियामा ढिलाइ भएको विषयमा अमेरिकी अर्बपति इलन मस्कले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीमाथि व्यंग्य गरेका छन्।
उनले अम्बानीलाई ‘भारतका वास्तविक मालिक’ भनेर आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट लेखेका छन्। साथै स्टारलिंकलाई प्रतिस्पर्था गर्न दिन पनि उनले पोस्टमार्फत आग्रह गरेका छन्।
‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतका वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा नबुझेकोमा मेरो विनम्र क्षमायाचना स्वीकार गर्नुहोला,’ उनले एक्समा लेखेका छन्।
मस्कले भारतका जनतामाथि अम्बानीले एकाधिकार जमाउन खोजेको पनि आरोप लगाएका छन्।
‘तैपनि के तपाईं स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुहुन्छ?,’ उनले अम्बानीलाई प्रश्न गरेका छन्।
भारतमा स्टारलिंकको प्रवेशलाई लिएर मस्कले लगातार तीन दिनदेखि सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन्।
बुधबार उनले केही शक्तिशाली व्यावसायिक समूहले स्टारलिंकको प्रवेश रोकिरहेको आरोप लगाएका थिए।
त्यसपछि बिहीबार अम्बानीको नाम लिँदै ‘के अम्बानी नै भारतका वास्तविक मालिक हुन्?’ भनेर प्रश्न गरेका थिए।
यसअघि पनि मस्कले भारतमा स्टारलिंकको अनुमति प्रक्रियालाई लिएर अम्बानीमाथि आरोप लगाएका थिए।
भारत सरकारले भने मस्कको आरोप अस्वीकार गर्दै आएको छ।
मस्कले आफ्नो पछिल्लो सन्देशमा भारतका धेरै क्षेत्रमा अझै इन्टरनेट पहुँच नभएको उल्लेख गर्दै स्टारलिंकले त्यस्ता ठाउँका बालबालिकालाई शिक्षाको अवसर र साना व्यवसायीलाई विश्व बजारमा सामान बेच्ने अवसर दिन सक्ने दाबी गरेका छन्।
‘स्टारलिंकले उनीहरूको जीवन राम्रो बनाउन सक्छ,’ उनले लेखेका छन्।
प्राकृतिक विपत्तिका बेला अन्य सञ्चार प्रणालीले काम गर्न छाड्दा स्टारलिंकले जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले भारतमा पनि यसले मानिसहरूको ज्यान जोगाउन सहयोग गर्न सक्ने बताएका छन्।
स्टारलिंकले पृथ्वीको तल्लो कक्षमा घुम्ने उपग्रहबाट इन्टरनेट सेवा दिन्छ। परम्परागत मोबाइल टावर वा तारमार्फत इन्टरनेट पुर्याउन कठिन हुने दुर्गम क्षेत्रमा पनि यसले सेवा दिन सक्छ।
भारतमा सेवा सुरु गर्न भने कम्पनीले आवश्यक सुरक्षा स्वीकृति र स्पेक्ट्रमसम्बन्धी प्रक्रिया पूरा गर्न बाँकी छ।
भारतमा स्टारलिंकसहित तीन कम्पनीले स्याटेलाइट सञ्चार सेवा प्रदान गर्न अनुमति पाएका छन्।
अन्य दुई कम्पनीमा मुकेश अम्बानीको रिलायन्स जियो र सुनील भारती मित्तलको समर्थन रहेको युटेलस्याट वानवेब छन्।
भारतको सञ्चार मन्त्रालयले अक्टोबर ८ मा तीनवटै कम्पनी समान नियामकीय प्रक्रियामा रहेको बताएको थियो।
सरकारले कुनै एउटा कम्पनीलाई मात्र रोकिरहेको भन्ने मस्कको आरोपलाई मन्त्रालयले अस्वीकार गरेको छ।
भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले इन्डिया मोबाइल कंग्रेसमा बोल्दै तीनवटै कम्पनीले अनुमति पाएको र सेवा सञ्चालनका लागि आवश्यक सर्त पूरा गर्नुपर्ने बताएका थिए।
‘एउटा कम्पनी (स्टारलिंक) का विषयमा धेरै चर्चा भइरहेको छ। तर मित्तल, जियो र मस्क गरी तीनवटा कम्पनीले अनुमति पाएका छन्,’ उनले भनेका थिए।
सरकारले राजस्वमा आधारित शुल्क प्रणाली निर्धारण गरेपछि स्पेक्ट्रम उपलब्ध गराइने र प्रत्येक कम्पनीले सुरक्षा सम्बन्धी सर्त पूरा गरेपछि मात्र सेवा सञ्चालन गर्न पाउने मन्त्री सिन्धियाको भनाइ छ।
स्टारलिंकको प्रवेशलाई लिएर देखिएको विवाद भारतको दूरसञ्चार बजारमा प्रतिस्पर्धा र नियमनको विषयसँग पनि जोडिएको छ। रिलायन्स जियो र भारती एयरटेल भारतीय दूरसञ्चार बजारका प्रमुख कम्पनी हुन्। स्याटेलाइट इन्टरनेटले विशेषगरी परम्परागत सञ्चार पूर्वाधार पुर्याउन कठिन हुने क्षेत्रमा सेवा विस्तार गर्न सक्ने भएकाले स्थापित कम्पनीसँग प्रतिस्पर्धा बढ्न सक्छ।
यसअघि स्याटेलाइट सेवाका लागि आवश्यक स्पेक्ट्रम कसरी वितरण गर्ने भन्ने विषयमा पनि विवाद भएको थियो। रिलायन्सले लिलाम बढाबढमार्फत स्पेक्ट्रम वितरण गर्नुपर्ने पक्ष लिएको थियो भने मस्कले प्रशासनिक प्रक्रियाबाट वितरण गर्नुपर्ने धारणा राखेका थिए। भारत सरकारले प्रशासनिक प्रक्रियाबाट स्पेक्ट्रम वितरण गर्ने नीति लिएको थियो।
स्टारलिंकको अनुमति विवादले भारतका ठूला व्यावसायिक समूहबीचको प्रतिस्पर्धा र सरकारको नियामकीय भूमिकाबारे बहस चर्काएको छ। विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि मस्कको टिप्पणीपछि प्रतिक्रिया जनाएका थिए। तर अनुमति प्रक्रियामा ढिलाइ हुनुमा राजनीतिक वा व्यावसायिक प्रभाव परेको भन्ने आरोप स्वतन्त्र रूपमा पुष्टि नभएको भनेर टाइम्स अफ इन्डियाले लेखेको छ।