नेदरल्याण्ड्सका अन्वेषक एवम् भाषाविद् जर्ज भ्यान ड्रिमले लामो खोज–अनुसन्धानका आधारमा लेखेको ‘द टेल अफ टी’ किताब एक महिनाअघि काठमाडौंमा सार्वजनिक गरेका थिए।
त्योबेला उनले चिया चीनबाट सुरू भएको बताएका थिए। त्यस्तै नेपालमा चियाको इतिहास दार्जिलिङ भन्दा पुरानो रहेको पनि उल्लेख गरेका थिए।
जर्जले भनेका थिए, 'दार्जिलिङमा खेती हुनुभन्दा धेरैअघि सन् १८१८ सेप्टेम्बरमा एडवार्ड गार्डेनर्स नामका एक विदेशीले काठमाडौंमै चिया उम्रिएको फेला पारेका थिए। यसलाई सन् १८२० मा डेनिस वनस्पतिविज्ञ न्याथोनिल वालिचले पुष्टि गरेका हुन्।'
अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स'मा हालै प्रकाशित एक लेख जर्जको भनाइसँग मिल्दोजुल्दो छ। उक्त लेखमा पनि दार्जिलिङमा भन्दाअघि नै नेपालमा चिया उत्पादन हुन थालेको उल्लेख छ।
लेखमा भनिएको छ-
इतिहासकारका अनुसार चीनका सम्राट डाओगुवाङले नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चियाका बोट उपहार दिएका थिए। अभिलेखका अनुसार उपहार पाएका यी बोट नै इलाम जिल्लामा रोपिएका थिए। दार्जिलिङमा भर्खर-भर्खर चिया रोपिन थालेका बेला नेपालमा भने उत्पादन नै हुन थालिसकेको थियो।
यस्तै नेपालमा चीनले उपहार दिएर चिया खेती थालिए पनि भारतमा भने चोरी गरेर ल्याइएको लेखमा उल्लेख छ। सन् १८४८ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीले वनस्पतिविद रोबर्ट फर्च्यूनलाई एउटा मिसनमा खटाएको थियो। उनको काम चीन गएर चियाका ताजा बोट चोरेर ल्याउनु थियो। यसरी चोरेर ल्याइएका बोट पश्चिम बंगालको हिमाली क्षेत्रमा रोप्ने इस्ट इन्डिया कम्पनीको योजना थियो। उनीहरू बेलायतकै अधिनमा चिया उत्पादन गर्न चाहन्थे।
चिया चोरेर ल्याउन वर्षौं लाग्यो। ल्याइएका बोटलाई भारतीय माटोमा बाँच्न कठिन भयो। बल्लबल्ल १९ औं शताब्दीतिर दार्जिलिङको माटोमा विस्तारै चिया फस्टाउन थाल्यो।
धनकुटास्थित चिया कारखाना। तस्बिर स्रोतः न्यूयोर्क टाइम्स
उता नेपालको चियाले बजार पाएको थिएन। कम गुणस्तरीय चियामध्ये केही यहीँ खपत हुन्थ्यो, केही भारतीय खुद्रा बजारमा सस्तोमा बेचिन्थ्यो। उच्च गुणस्तरको चिया भने भारतका ठूल्ठूला व्यापारी र उद्योगीले किन्न थाले। उनीहरू यही चियालाई पछि 'दार्जिलिङ चिया' का रूपमा लेबलिङ गरेर बेच्थे।
दार्जिलिङमा पनि विस्तारै राम्रो चिया उत्पादन हुन थालेपछि संसारकै उत्कृष्टमध्ये यहाँको चिया पर्दै गयो। छोटो समयमै दार्जिलिङ 'चियाको स्याम्पियन' नामले चर्चित भयो। भारतमा बेलायतको शासन चलिरहेका बेला युरोप र अमेरिकामा यहाँको चिया फैलिन सहज भयो।
तर यही चर्चित दार्जिलिङ चिया केही वर्षयता भने खस्किँदै गएको छ। डेढ सय वर्षसम्म लगातार खेती गर्दा यहाँको माटोमा चिया फस्टाउन सकेको छैन। माग धेरै भएकाले, तत्कालै पुरानो खेती तरिका फेरर नयाँमा जान पनि उद्योगीले आँट गर्न सकिरहेका छैनन्।
यस्तो अवस्थामा नेपाली चियाले मौका पाएको छ।
न्यूयोर्क टाइम्स भन्छ- तपाईं नेपाली चिया स्थानीय 'स्टारबक्स' मा पाउनहुन्न। तर यिनको लोकप्रियता बढ्दो छ। युरोप र उत्तर अमेरिकाका बुटिक र अनलाइन पसलहरूमा पाइने चिया नेपाली नै हो। र, यसको माग बढ्दो छ।
टाइम्सले उत्कृष्ट नेपाली चिया कहाँ किन्न सकिन्छ भनेर पसलका नाम, वेबसाइट र ठेगाना समेत उल्लेख गरिदिएको छ।
यसले नेपाली चिया विश्वबजारमा फस्टाउँदै र आफ्नै पहिचान बनाउँदै गएको संकेत दिन्छ।
‘द टेल अफ टी’ किताबका लेखक जर्जका अनुसार सुरुमा मान्छेलाई चिया खाने तरिका थाहा थिएन। अदुवा-लसुन लगायत मरमसला हालेर अचार वा तरकारी जस्तो बनाएर खान्थे। सत्रौं शताब्दीसम्म पनि नेदरल्याण्सका मान्छेहरू चियाको पात सलादका रूपमा खाने गरेको जर्ज बताउँछन्।
उनका अनुसार चपाउने चियाको पात पछि पानीमा हालेर सुपका रूपमा पिउन थालियो।
चिया बनाउने तरिका संसारभरि फरक-फरक छ।
चीनकै लिली समूहले नुनिलो चिया पिउँछन्। ब्लाङले अमिलो, प्रिन्मी चिल्लो र हमोङ समूहले वनस्पतिले बेरिएको चिया बनाउँछन्। त्यस्तै, आनी समूहले माटाका भाँडामा, सानीले तामाको भाँडामा पिउँछन्। चियाकै उत्पत्तिपछि सेरामिकका भाँडा पनि चीनमा बन्न थालेको जर्ज बताउँछन्।
थाइल्यान्ड, आसाम, उत्तर प्रदेश, बर्मा लगायतका मानिसले चियालाई लामो समय बाँस, ढाकी लगायत भाँडाहरूमा गुन्द्रुकझैं कुहाएर राख्थे। पछि मात्रै यसलाई ‘अक्सिडाइज’ गर्न थालियो।
धनकुटास्थित चिया कारखाना। तस्बिर स्रोतः न्यूयोर्क टाइम्स
जर्जका अनुसार चियाका बोट लामो समय बाँच्न सक्ने हुन्छन्। चीनको युआन र सिन्चुआनमा सबभन्दा पुराना बोट छन्।
युआनमा रहेको एउटा बोट करिब २ हजार ७ सय वर्ष पुरानो छ। यो करिब २५ मिटर अग्लो छ। सन् २०१२ मा ‘चाइना डेली’ का अनुसार त्योभन्दा पुरानो (३ हजार २ सय वर्ष) बोट बर्मा सीमामा फेला परेको छ।
बर्मेलीहरूका अनुसार योभन्दा पुरानो बोट बर्मेली सैनिकहरूले काटिसकेको बताउँछन्, जसलाई उनीहरू पूजाआजासमेत गर्छन्।
चियासँग आध्यात्मिकता पनि जोडिएर आउँछ। जापानका एक बौद्धगुरु युङवान कुक्नेन चिया र जैन धर्मको स्वाद उस्तै भएको बताउँछन्।
‘जेन धर्मबाटै ध्यान भन्ने शब्द बनेको हो। चिया पिउँदा हामीले ध्यान गरेको अनुभूति पाउँछौं,’ युङवानको धारणा उद्धृत गर्दै जर्जले भने।
चिया पहिले ठूला वर्ग र बौद्ध गुम्बाहरूमा बढी प्रख्यात थियो। बौद्ध धर्म प्रख्यात हुने क्रममा चिया पनि सामान्य मानिसको पहुँचमा पुग्यो। यो सबभन्दा ताङ राज्य (६१८–९०७) मा लोकप्रिय भयो। यसमा लु युन भन्ने बौद्धमार्गीको ठूलो भूमिका छ।
लु युनले गुम्बामै चियाबारे ज्ञान हासिल गरे। चियालाई औषधिका रूपमा प्रयोग गर्नुदेखि यसलाई फैलाउन भूमिका खेलेका लु युनलाई चीनमा चियाका 'भगवान' मानिन्थ्यो। उनको मृत्युपछि शालिक बनाइयो, जसलाई केही व्यापारीहरू चिया चढाएर पूजा गर्थे।
जर्जका अनुसार हामीले प्रयोग गर्ने कागजका नोट पनि ‘फ्लाइङ मनी’ का रूपमा चिया व्यापारकै लागि चीनले निकालेको हो। पहिले घोडामा चिया राखेर व्यापार गरिन्थ्यो। पछि चियामा कर लाग्न थाल्यो। सिन्चुआनमा पहिलो कर विभाग बन्यो।
‘चिया करको प्रसंगलाई लिएर संसारमा अफिम युद्ध, एङ्लो डच युद्ध, अमेरिकी युद्ध भएको छ,’ जर्जले भनेका छन्।
उनका अनुसार विश्व बजारको दुई-तिहाई कालो चियाले ओगटेको छ। तीन देश अग्रस्थानमा छन्– भारत, केन्या र श्रीलंका। जबकि, सत्रौं शताब्दीतिर नेदरल्याण्ड्स र बेलायतबीच चियाको करबारे युद्ध हुँदा त्यहाँ चियाको खेती सुरु नै भएको थिएन।