नेपाली सेनाले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ। त्यसका लागि सेनाले समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको हो।
जटिल मानिएको ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ। यस्ता पुलहरू १६ वटा छन्।
साना ठूला अन्य पुलहरू २०७७ को भदौमा सुरू गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ। यस्ता पुलहरू ७१ वटा छन्।
सेनाले सोमबार पत्रकार सम्मेलन गरी सुरूङ निर्माणको काम २०७८ जेठबाट सुरू हुने जनाएको छ। सेनाले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुरूङ निर्माणको काम २०८१ वैशाखमा सकिनेछ।
फास्ट ट्रयाकमा तीन ठाउँमा सुरूङ हुनेछ। सुरूङको लम्बाई ६.४ किलोमिटर रहनेछ। सुरूङको काम सकिएलगत्तै फास्ट ट्रयाक निर्माणको काम पनि सकिने सेनाले जनाएको छ।
सेनाको अनुसार पुल र सुरूङबाहेकको काम भने २०८० को असोजमै सकिनेछ। सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र सक्नेगरी फास्ट ट्रयाक बनाउन सेनालाई जिम्मेवारी दिएको थियो।
सोही वर्षको जेठमा फास्ट ट्रयाकको शिलान्यास भएको थियो भने साउनदेखि सेनाले काम सुरू गरेको थियो। ७२.५ किमिको फास्ट ट्रयाक चार लेनको हुनेछ।