शनिबार १२-१ बजेतिर धुलिखेलमा कोरोना संक्रमितको मृत्यु भयो भनेर समाचार आयो। व्यारेकमा म, एसपी र कर्नेल सरहरू सँगै थियौं। समाचार आएपछि हामी नै जान पाए हुन्थ्यो भनेर सोचिरहेको थिएँ। मैले साथीहरूबीच पनि कुरा गरें। त्यहीबेला फोन आयो। र अन्त्यमा त्यो शव उठाउन हामी नै जाने भयौं।
हामी यसका लागि तीन महिनाअघिदेखि नै तयार थियौं। सशस्त्रसँग मिलेर विद्यार्थीहरूलाई पनि प्रशिक्षण दिएका थियौं। लकडाउनपछि हामीले भक्तपुरको अस्पतालमा विभाग छुट्टाउन माग राख्यौं।
पेट दुखेका, ज्वरो आएका र खुट्टा भाँचिएका बिरामीहरूलाई सँगै राख्न नहुने जिज्ञासा राख्यौं र त्यही अनुसार काम पनि भयो। ती दिनदेखि हामीले स्वाब संकलन गर्नेदेखि बाहिरबाट आएका मान्छेहरूलाई अस्पताल पुर्याउने काम गर्यौं।आइसोलेसन वार्डमा पुर्याउने, क्वारेन्टाइनमा पुर्याउने सबै कामले गर्दा हाम्रो आत्मबल बलियो भइसकेको थियो।
हामी शव लिन धुलिखेल गयौं। हामीसँग कर्नेल र एसपी सरहरू पनि आउनुभयो। अस्पतालको माहोल कर्फ्यू लागे जस्तै थियो। सुरक्षाकर्मी र स्टाफहरू मात्रै थिए। हामी त्यहाँ पुग्दा नै उहाँहरूले शवलाई गाडीसम्म पुर्याउने योजना बनाइसक्नु भएको थियो। शवलाई प्लास्टिकले पहिल्यै बेरिएको थियो र पुन: हामीले चकलेट र्यापिङ गरेजस्तै बेर्यौं।
हामीले थ्री लेभल पिपिई सुट लगाएका थियौं। बाटोभरि स्यानिटाइजर लगाउँदै थियौं।
हामीलाई एसपी सरले बाटो खाली गरिदिनुभएकोमा सहज पनि भयो। प्रहरी र सेनाले स्कर्टिङ गरिरहेका थिए। हाम्रो गाडीको पछाडि मृतकका श्रीमान एम्बुलेन्समा आउनु भएको थियो। नवजात शिशुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। अरू कोही पनि आएका थिएनन्।
पशुपति पुग्दा कोही पनि थिएनन्। हामीले शव उठाइरहँदा कोही नभएकोले अलि डर पनि थियो। दिउँसो नै आउन पाएको भए सहज हुन्थ्यो कि! भन्ने लाग्यो। ती संक्रमित महिलाको आफन्तको नाममा श्रीमान मात्रै हुनुहुन्थ्यो। उहाँ पनि टाढैबाट हेरिहरनुभएको थियो। कोरोनाले हिन्दुधर्म संस्कृति पनि हरायो। दागबत्ति पनि हामीले नै दियौं, अन्तिम संस्कार पनि हामीले नै गर्यौं। मृत्युपछि सबैका साथीभाइ आफन्त भेला हुन्थे तर कोरोनाले त्यो पनि लग्यो। हामी नै ती महिलाका मलामी बन्यौं।
पहिलेका प्रकोपहरूका कारणले पनि होला यसमा त्यति कठिन लागेन। भूकम्प, बाढीपहिरो लगायतमा पनि म खटेको छु। करिब दुई हजार शव उठाइसकेको छु होला। जसले गर्दा त्यति डर मनमा भएन।
मैले सबभन्दा पहिले शव देखेको आफ्नो बुवाको हो। बिहानसम्म सँगै खाना खाएका थियौं र बेलुकी दागबत्ति दिएको थिएँ। त्यो जत्तिको विडम्बना केही पनि थिएन। त्यसैले मलाई शव बोक्न गाह्रो भएन। सुरक्षाका नीति पनि अपनायौं। सेनाको ब्यारेकमा पुगेर हामीले हिजो नै बुट लुगा सबै जलायौं। डिस्इन्फेक्ट भयौं। सुरक्षित भयौं।
अहिले हामी क्वारेन्टिनमा बसेका छौं। क्वारेन्टिनबाट निस्किएपछि जहाँबाट बोलाए पनि हामी जान तयार छौं। तर हामीलाई जाने व्यवस्था मिलाइदिनुपर्ने हुन्छ। यो कामले शवको पनि रेस्क्यू हुन्छ भन्ने कुरा प्रस्ट्याएको छ। यहाँबाट निस्किसकेपछि हामी फेरि संक्रमितको ट्रेसिङ थाल्छौं।
भोलि भयावह भएमा हामी त्यही अनुसार खट्नेछौं। हिजो दुई जनाको टोली थियौं। नपुगे हामी छुट्टिनेछौं।
(अरूण सैजुसँग सेतोपाटीका लागि निशा भण्डारीले गरेको कुराकानीमा आधारित।)
यो पनि :
पहिलो कोरोना मृतकको शव यसरी पुर्यायौं पशुपति