युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्।
पाल्पाको तत्कालिन देउराली गाविस लघुवामा जन्मिएका उनले स्थानीय भैरव जनता माविबाट एसएलसी पास गरेका थिए ।
उनी २०४७ सालमा खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका थिए।
निम्न वर्गीय परिवारमा जन्मिएका मानबहादुरलाई परिवारले आरन चलाएरै भए पनि स्कुल तथा कलेज पढाएको थियो। उनले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन्।
हाल युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव रहेका बिक दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी हुने पनि पहिलो व्यक्ति थिए। उनी २०६० सालमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भएका थिए।
प्रमुख जिल्ला अधिकारी भएर उनले बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायत जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका थिए।
उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव, प्रदेश ५ प्रदेशसभा सचिवालयको सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव समेत भएका थिए।