कोरोना संक्रमण महामारी नियन्त्रणभन्दा बाहिर हुँदै गएपछि सर्लाही जिल्ला पनि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ।
प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएकोमा भोलि बिहान ६ बजेदेखि लागू हुने गरी सर्लाहीमा समेत एक साताका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ।
यस अवधिमा अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध बोक्ने र खाद्यान्न वस्तु बोक्ने सवारी साधन, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
अहिलेसम्म प्रदेश २ को ८ वटा जिल्लामध्ये ४ वटा जिल्लामा पूर्णरूपले निषेधाज्ञा जारी गरिएको छ भने केही जिल्लामा संक्रमण देखिएका स्थानीय तहमा मात्रै निषेधाज्ञा जारी गरिएको हो।