बाँकेका तीन वटा निर्वाचन क्षेत्रबाट ६१ जनाको उम्मेदवारी परेको छ।
तीन सिटका लागि ६१ जनाले मंगलबार मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका १६ जनामध्ये ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का दीपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार प्रदिप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले उम्मदेवारी दर्ता गराएकी छन्।
अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित केसीले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी हुन्। हाल उनले पूर्वमाओवादी पार्टी त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी छन्।
त्यस्तै, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, नेकपा (एमाले) का सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिपकुमार शाह, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, मंगोल नेसनल अर्गजनाइजेसनका फेरूलाल चौधरी, श्रम संस्कृति पार्टीबाट भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ।
यहाँ पनि ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र रूपमा मनोजकुमार चौधरी, शौभाग्यजंग शाह र विपेन्द्र लामा तामाङले उम्मेदवारी दर्ता गरेका छन्।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुधान्सु कोइराला, नेकपा (एमाले) बाट मोहम्मद इश्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीका दिपेन्द्र विष्ट, आम जनता पार्टीका अब्दुल उमर साई, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेख, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, जय मातृभूमि पार्टीका गोपालप्रसाद गिरी, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महेन्द्र प्रकाश चन्दले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नं. २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट माजिद अलि शेष, जनमत पार्टीका मो. आजाद साई, श्रम संस्कृति पार्टीका रामचरण चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्मा र राष्ट्रिय एकता दलका सीताराम यादवले उम्मेदवारी दिएका छन्।
बाँकेको क्षेत्र नम्बर ३ मा ५ जना स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र रूपमा चेतबहादुर वली, भगवती शाह, भीमबहादुर सुनार, पदमबहादुर घर्ती मगर र सूर्यप्रसाद रेग्मीले उम्मेदवारी दर्ता गरेका छन्।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका अमरसिंह पुन, नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कम्युनिस्ट पार्टीका कान्तुराम गौतम र नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले उम्मेदवारी दिएका छन्।
निर्वाचनका अधिकृतको कार्यालयले दिपककुमार गौरी मगरको उम्मेदवारी निष्क्रिय राखेको छ।
दुबै जनाले एउटै पार्टीबाट उम्मेदवार भएको पत्रसहित उम्मेदवारी दर्ता गराएका थिए। तर, मगरले अन्तिममा आएर उम्मेदवारी दर्ता गरे पनि त्यसलाई मान्यता दिने वा नदिने निश्चय भइनसकेको स्रोतले बताएको छ।
यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, श्रम संस्कृति पार्टीका ओमकार थापामगर, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट चन्द्रविर कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारु, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ति पार्टीका ध्रुवराज थारूले उम्मेदवारी दिएका छन्।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका भूमि महतरा, राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, मंगोल नेसनल अर्गनाइजेसनका मनोजकुमार थारू, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, मितेरी पार्टी नेपालका रूपकुमार चन्द, जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादवले उम्मेदवारी दर्ता गराएका छन्।