काम विशेषले टोखाबाट सामाखुसीतर्फ जाँदै थिए, पिँजडा जस्ता विद्युतीय बसमा तीन जना चढे जसमा दुई महिला एक स्कुले नानी थिए। सायद एकजना नानीकी आमा र अर्की सानिआमा होलान्।
ती आमा चाहिले बहिनीसँग भन्दै थिइन्, ‘नानीलाई त एघार बजे अघि मोबाइल चलाउन दिएकी छैन, होमवर्क गर्न पर्यो। बिदा हो, बच्चालाई रमाउन त बिदा दिएको हो नि।’
बच्चाहरूलाई पढ न भन्यो भने ‘होमवर्क सकियो अब के पढ्ने?’ भन्दछन् लाग्छ बच्चाहरूलाई पढ्ने भनेको होमवर्क मात्र हो जस्तो लाग्छ सायद। हामी मास्टरले बुझाउन कमजोरी भयो या उनीहरू बहकिएका हुन् तर जे भए पनि बच्चाहरू पढ्न छाडे।
हरेक घर आफन्त मित्रकोमा जान्छु, सबैको यही समस्या छ- बच्चा पढेनन्, मोबाइलमा रमाए, गेम खेले, सामाजिक सञ्जालमा झुमिएर बसे। तर समाधान कतैबाट पनि छैन। बेलाबेला स्वघोषित शिक्षाविद् आदर्शका कुरा गर्छन्, समाधान त कता-कता। सरकारबाट पनि कुनै पहल हुँदैन। केवल ठुला कुराको पछि लाग्छन्। बच्चा नपढेको, ध्यान नदिएको उनीहरूलाई सानो कुरा लाग्छ।
बच्चाको मिनपचासलाई हटाएर एक हप्ता दश दिन पुस/माघको ठन्डीमा बिदा दिने विवेक राख्ने हामीलाई त्यो जाबो बच्चा नपढेको कुरा राष्ट्रिय गौरवको योजनाको ठेक्का टेन्डर थोडी हो र! खासमा चासो छैन। किन चासो होस्, न बच्चाले भोट दिन्छन् न त जुलुस गर्छन्।
लामो जाडो बिदाको छुट्टीमा बच्चालाई के गर्ने के गराउने बारेमा धेरै बिचार गर्नु पहिला हामी समस्त अभिभावकहरू आफै स्वयम सुध्रिन तथा सच्चिन आवश्यक छ। लाग्ला सबै अभिभावकहरूमा- म त ठिक, सही, जिम्मेवार छु मेरो बच्चाप्रति, राम्रो विद्यालय पठाएको छु, राम्रो खानपान गराएको छु, सानदार तरिकाले पालन पोषण गरेको छु। तर यो सबैको पछाडि बच्चा लगनशील, आज्ञाकारी, ज्ञानी बन्ने आधार छैन या नहुन पनि सक्छ किनकि सबै कुरा ठिक दुरुस्त रहँदा पनि केही कुरामा चुकेको हुनसक्छ।
एकजना पूर्व प्रशासक हजुरबुबाको गएको थिएँ। भाइले के-के पढे सोधनी गर्दा अहिलेका बच्चाहरू हामीअनुसार चल्दैनन्, उनीहरूको संगत ,भेटघाट, छलफल उनीहरूको साथीभाइसँग हुन्छ, उनीहरूको बढी सुन्छन्, त्यही मार्गमा लाग्छन्, यस कारण संगते जायते फलम पनि भनिन्छ। यस कारण समग्र समाज पनि जिम्मेवार छ बच्चाको पढाइ, अनुशासन, बानी, ब्यहोरा, व्यवहार, आचरण सबै देश परिवेशमा भर पर्छ।
अभिभावकलाई यो कुरा गरिरहँदा अन्यथा लाग्ला तर हामी सबै समाज कहीँ न कहीँ पथभ्रष्ट हुँदै छौँ। यसको झलक बच्चामा सरेको पक्कै हो। तर हामी पनि जड छौँ कि कुनै हालतमा पनि आफ्नो गल्ती कमजोरी स्विकार्न आनाकानी गर्छौँ।
घर पहिला पाठशाला त्यसै भनेको होइन। यदि हामी बच्चाको अगाडि मोबाइलमा घन्टौँ खेल्छौँ भुल्छौँ, बच्चाको अगाडि चुरोट रक्सी पिउँछौँ, श्रीमान्-श्रीमती बिच झगडा गर्छौँ, एक अर्कोको अपमान दोषारोपण गर्छौँ, अपशब्द बोल्छौँ जुन बच्चाले हामी अभिभावकबाट सिक्छन्।
एक दिन बच्चाको मासिक परीक्षाको नतिजा लिन विद्यालय गएको थिएँ। मैले शिक्षकलाई ‘बच्चा दिनभर तपाईंहरूसँग हुन्छ, जे गर्नु तपाईंहरूले नै गर्नु, हामी समय दिन सक्दैनौँ’ भनेँ। यसको उत्तरमा शिक्षकले भन्नुभयो, ‘दिनमा २४ घण्टा हुन्छ, ८ घण्टा सुत्छन्। बाँकी ८ घण्टा बच्चा घरमा त हुन्छन्। यस कारण घरमा तपाईंहरूले धेरै कुरा सिकाउन गर्न सुक्नुहुन्छ।’
काहिल गिवान प्रसिद्ध कविले भनेझैँ तपाईंको बच्चा तपाईंको होइन (योर चाइल्ड इज नट योर्स) अर्थात् रगत वंश तपाईंको भए रहे पनि बच्चाको दुनियाँ संसार आफ्नै छ।
बिदामा छुट्टीमा बच्चालाई सही मार्गमा लगाउन अभिभावकले केही समय छुट्ट्याउन आवश्यक छ, केबल पैसा मात्र छुट्ट्याएर पुग्दैन। बच्चा पछि गएर बिग्रेमा त्योभन्दा बढी खर्च हुन्छ। बच्चालाई अहिले तपाईंको पैसा, सम्पत्ति, धनभन्दा समय चाहिएको छ जुन तपाईं अहिले दिनु हुँदैन, पछि बच्चाले पनि तपाईंलाई दिँदैन।
यसै कारण त ज्येष्ठहरू पीडित छन्। अहिले बच्चालाई अभिभावकले दिएको समय बच्चाबाट पछि उनीहरू हुर्के, बढे, पढे, बनेपछि निश्चित रूपमा फिर्ता पाइन्छ। निश्चिन्त हुनुहोस्, बच्चालाई दिएको समय ज्ञान परिवारको बच्चामाथि लगानी हो, प्रतिफल मिल्छ।