प्रश्न गर
नयाँसँग प्रश्न गर
पुरानासँग प्रश्न गर
गर प्रश्न आफैसँग पनि
र माग
तिम्रा अनुत्तरित प्रश्नका उत्तरहरू।
तिखार आफ्नो प्रश्नलाई
बनाऊ हतियार प्रश्नलाई
र छेड
जवाफ दिने ठाउँमा बसेकाहरूलाई
तिनको मस्तिष्क हल्लिने गरी।
सजाऊ ती तमाम प्रश्नहरूलाई
एउटा किस्तीमा
जो अपहेलित छन् वर्षौँदेखि
र पस्क
आफूलाई नेता भनाउँदाहरूले अगाडि।
प्रश्न गर्न नछोड
उत्तर पनि माग
फेरि प्रश्न गर
फेरि उत्तर माग
यदि जवाफ आएन भने
सम्झ
त्यो पुतला हो
त्यो कठपुतली हो
त्यो मान्छे त हुँदै होइन
जो देख्छ,
जो सुन्छ,
जो बुझ्छ,
तर बोल्न सक्दैन
सधैँ-सधैँ
मालिकको इशारामा नाचिरहन्छ
सधैँ-सधैँ
कसैको निगाहमा बाँचिरहन्छ।
जे गरे पनि
जति सोधे पनि
उत्तर आएन भने
प्रतिकार गर
तिम्रो भगवानको पनि
र जन्माऊ
एउटा नयाँ नेतृत्व
जो जवाफदेही होस्
तिम्रा नयाँ अनि पुराना प्रश्नहरूको।