दुर्लभ वन्यजन्तु सालकसहित रुपन्देहीमा ५ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल ५ नेपालगञ्ज रोडबाट उनीहरुलाई सालकसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका ७ बस्ने ३६ वर्षका मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ बस्ने ३२ वर्षका लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका १० बस्ने वर्ष ६६ को सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने वर्ष ३५ वर्षीया नेत्रमाया राना रहेको जानकारी दिए।
उनीहरुले दुर्लभ वन्यजन्तु सालकलाई लुकाईछिपाई साथमा लिएर हिँडेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको खत्रीले जानकारी दिए। सालक र पक्राउ परेका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छली भारततर्फ लैजाँदै र नेपाल तर्फ ल्याउँदै गरेका सामान बरामद गरी आन्तरिक राजश्व कार्यालय बुटवल र भन्सार कार्यालय पठाएको जनाएको छ।
प्रहरीले ६ हजार ९ सय ७५ किलो केराउको दाल र एक ट्रक छोडा भन्सार छली नेपालबाट भारततर्फ लैजांदै गर्दा बरामद गरिएको जनाएको छ।
त्यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, अष्ट्रिजको दानासमेत बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानको बजार मूल्य करिब २० लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ।