दाङको तुलसीपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।
टिपरको ठक्करबाट स्कुटर पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–९ की ४९ वर्षीया पुष्पा कँडेलको मै मृत्यु भएको हो।
श्रीमान–श्रीमती सवार रा ७ प ६३३१ नम्बरको स्कुटर श्रीमान दुर्गा कँडेलले चलाएका थिए। श्रीमानको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले सेतोपाटीलाई बताए।
तुलसीपुर बजारबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई टिपरले बेलुकी सात बजेतिर दुधेनामा ठक्कर दिएको थियो। स्कुटर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै थियो भने टिपर विपरीत दिशा पश्चिमबाट तुलसीपुरतर्फ आइरहेको थियो।
स्कुटरलाई ठक्कर दिएपछि चालक टिपर लिएर भागेका थिए। जिल्ला प्रहरी प्रवक्ता बोहराका अनुसार उक्त टिपर नारायणपुरबाट नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान जारी रहेको बोहराले बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले घटनाको विरोधमा स्थानीयले तुलसीपुर–पश्चिमको सडक खण्ड अवरूद्ध गरेको बताए। स्थानीयले सडकमा टायर बालेर चालकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।