ढुंगामाटोले भरिएको बाटो, घामले तातेको भुइँ र अनिश्चित गन्तव्य — यी सबैलाई बेवास्ता गर्दै एक युवा बिहीबारबाट खाली खुट्टा नेपाल भ्रमणमा निस्किएका छन्।
पाँच वर्षसम्म घर नफर्किने अठोटसहित उनले देशका हरेक भूगोल पैदल हिँडेरै नाप्ने अभियान सुरू गरेका हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–११, नवलपुरका २६ वर्षीय मदन केसीले लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट 'महान नेपाल यात्रा' को औपचारिक थालनी गरेका छन्।
६८ वर्षीय बुबा तेजु खत्री र ६५ वर्षीया आमा लक्ष्मी खत्रीको आशीर्वाद लिएर पैदल यात्रा सुरू गरेको उनले बताएका छन्।
आगामी पाँच वर्षसम्म हिमाल, पहाड र तराईका हरेक गाउँ, टोल र बस्ती पुग्ने उनको योजना छ।
'म नेपालका हरेक बस्तीमा पुग्न चाहन्छु,' उनले सेतोपाटीसँग भने, 'पाँच वर्षभित्र देशका प्रत्येक भूगोल घुमेर नेपाली समाजलाई नजिकबाट चिन्ने मेरो लक्ष्य छ।'
उनका अनुसार यो यात्रा केवल व्यक्तिगत रहर होइन, एक सामाजिक अभियान पनि हो। नेपालको इतिहास, राष्ट्रिय स्वाभिमान, सांस्कृतिक पहिचान, जनचेतना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले यो यात्रा थालेको उनले बताए।
'नेपाल चिनौं, नेपाल जगाऔं, नेपाल बनाऔं भन्ने सन्देश लिएर हिँडेको हुँ,' उनले भने, 'देशका विभिन्न भूभाग, समुदाय र जनभावनालाई प्रत्यक्ष रूपमा बुझ्नु नै मेरो मुख्य उद्देश्य हो।'
सल्यानको दार्मा गाउँपालिका–५, रातामाटाका स्थायी बासिन्दा केसी पछिल्लो आठ वर्षदेखि दाङको तुलसीपुरमा बस्दै आएका छन्। उनका सात वर्षीया छोरी र दुई वर्षका छोरा छन्। श्रीमती ललिता केसी र परिवारकै सहमतिमा यो पैदल अभियान सुरू गरेको उनको भनाइ छ।
पाँच वर्ष नेपाल भ्रणण गर्दा घर व्यवहार कसरी चल्छ भन्ने प्रश्नमा उनी भन्छन्, 'श्रीमतीले 'तपाईं निस्फिक्र भएर यात्रा गर्नुहोस्, घर म सम्हाल्छु' भनिन्। आमाबुबा र बहिनीले पनि मेरो अभियानमा साथ दिए। परिवारको यही साथले मलाई ठूलो हौसला मिल्यो।'
पदयात्रा क्रममा देशका विभिन्न ठाउँमा भेटिएका मानिस, उनीहरूका अनुभव र समाजका विविध पाटोलाई लिपिबद्ध गर्दै भविष्यमा किताब प्रकाशन गर्ने उनको योजना छ।
मदन यसअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको राजनीतिक समूहमा सक्रिय थिए। उनी पार्टी सचिवालयमा रहेर ड्रोनसम्बन्धी कामसँगै लेखन र पत्रकारितामा पनि संलग्न थिए।
उनले यात्राको पहिलो दिन लुम्बिनीको मायादेवी मन्दिर परिसरमै बस्ने निर्णय गरेका थिए।
'पहिलो रात मन्दिरमै बिताएँ,' उनले भने, 'यात्रा केवल हिँडाइ होइन, आत्मानुभूति पनि हो। त्यही आत्मानुभूतिका लागि मैले यात्राको सुरूआत लुम्बिनीबाट गरेको हुँ।'