नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी नेपालप्रति एक अमेरिकी राजदूतले राख्ने चासोमा मात्र सिमित छैनन्।
नेपाल-अमेरिकाको कुटनीतिज्ञ सम्बन्धसँगै उनको चासो नेपाली समाज, संस्कृति, परम्परा, रहनसहन र नेपाली खानामा पनि उत्तिकै छ।
राजदूत बेरीले हिजो शुक्रबार र आज शनिबार गरेका ट्विटले उनी आफ्नो नेपाल कार्यकालमा एक फरक अमेरिकी राजदूतको छवि राख्न चाहन्छन् भन्ने देखाउँछ। बेरीको यो आशय यसअघि थुप्रैपटक उनको ट्विटर ह्यान्डलमा देखिएको छ।
हिजो शुक्रबार विश्व खाद्ध दिवसको अवसरमा उनले नेपालमा आफूले खाएका खानेकुराको स्वादको प्रशंसा गरेका थिए भने शनिबार गरेको ट्विटमा उनले आजैबाट सुरू भएको नेपाली हिन्दूहरूको महान् चाड बडादसैंसँग जोडिएको आफ्नो सम्बन्धका बारेमा आफ्नो स्मरण ताजा गर्दै सम्पूर्ण हिन्दू नेपालीलाई शुभकामना दिएका छन्।
शुक्रबार गरेको ट्विटमा उनले नेपाली खाना नेपाली मानिसहरू जत्तिकै विविधतायुक्त भएको र आफूलाई नेपाल घुम्दै रैथाने नेपाली खाना चाख्न हतार भएको बताएका छन्।
'मेरो नेपाल यात्राले यो महान् देशको रैथाने खाना यहाँका मानिसहरू जत्तिकै विविधतापूर्ण छ भनेर देखाएको छ। चाहे त्यो मुस्ताङको खसीको मासु होस्, चाहे जनकपुरको लस्सी, वा नेपालगन्जको विर्यानी। मलाई यो भाइरस(कोरोना भाइरस)लाई जित्ने बित्तिकै कतिबेला नेपालको यात्रा फेरि सुरू गरौं भएको छ', उनले ट्विटमा आफ्नो व्यग्रता व्यक्त गरेका छन्।
यसैगरी आज शनिबार गरेको ट्विटमा ह्यासट्याग 'दशैंआयो'मा उनले दशैंका चार तस्वीर पोस्ट गर्दै आफूले नेपालमा पहिलोपटक सन् २००७ मा मनाएको दशैंको सम्झना गरेका छन्।
'दसैं आयो, मैले पहिलोपटक काठमाडौंमा सन् २००७ मा दशैं मनाएको थिएँ। असहजपरिस्तिका बाबजुत हामीले हाम्रो बिदा हाम्रा निकटसँग घरभित्रै मनाउनबाट केहीले रोक्न सक्दैन। सुरक्षात्मक उपाय अपनाउन नबिर्सनु होला! दसैंको शुभकामना', उनले ट्विट गरेका छन्।