अस्ट्रेलियामा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले स्थापना गरेको एक्सपर्ट फाउण्डेसनले असहाय, बेसहारा गरी तीन सय जनालाई टीका लगाएर खाना खुवाएर दसैं मनाएको छ।
नेपालमा कोरोनाको बढ्दो प्रभावबीच नेपालीहरूको चाड दसैंको दिन कोही व्यक्ति भोकै रहनु नपरोस् भन्ने उद्धेश्यले काठमाडौंको खुलामञ्चमा फाउण्डेसनले दसैं मनाएको हो।
नेपालीहरूको महान चाडमा पनि कोही भोकै नरहुन् भन्ने सोचका साथ ‘सबैको दसैं’ भन्ने नाराका साथ कम्तिमा एक दिन भए पनि दसैं सबैको हो भनेर अनुभूति दिलाउन भोजन खुवाउने कार्यक्रम गरिएको एक्सपर्ट फाउण्डेसनका निर्देशक सन्जिव शर्माले बताए।
एक्सपर्ट एजुकेसन अस्ट्रेलियासँंग आबद्ध कर्मचारीको सहयोग र आपसी स्रोतको माध्यमबाट सहयोगको हात बढाउन केही वर्ष अगाडि यो फाउण्डेसन खडा गरिएको निर्देशक शर्माले बताए।
कोरोना कहरका कारण सृजित लकडाउन त्यसपछि सर्वसाधारणमा परेको आर्थिक संकटमा गुर्जिन परिस्थितिबस बाध्य बनेकाहरूलाई विगत ७ महिनादेखि एक्सपर्टले नेपालका विभिन्न भागमा खाना खुवाउने काम गरिरहेको एक्सपर्ट काठमाडौंका निर्देशक खेम संग्रौलाले सुनाए।
खानाको लागि आवश्यक खर्च विभिन्न दाताहरूले प्रदान गर्ने गरेका छन्। प्राप्त सहयोगबाट खाना खुवाउने काम सेवाभावका साथ भइरहेको बुझेपछि सामूहिक भान्छाका लागि लाग्ने खर्च एक्सपर्ट फाउण्डेसनले उपलब्ध गराएको थियो।
एक्सपर्ट फाउण्डेसनले हरेक वर्ष विभिन्न परोपकारी कार्यमा सहयोग गर्दै आएको कुरा यसका फाउण्डेसनका अर्का निर्देशक बद्री अयौर्लले बताए।
नेपालमा पछिल्लो भूकम्प, बाढी पीडितका परोपकारी क्षेत्रमा एक्सपर्ट फाउण्डेसनले उल्लेखनीय रूपमा सहयोग र सहभागिता जनाउँदै आएको छ।
पछिल्लो समयमा कोभिडको कारण अस्ट्रेलियामा अलपत्र परेका नेपाली तथा विशेषत: विद्यार्थीहरूको उद्धार र संरक्षणको निम्ति एक करोडभन्दा बढी रकमको सहयोग गरेको अर्यालले बताए।