रुपन्देहीको मायादेवी गाउँपालिका-३ की २१ वर्षीया प्रेमा यादवले आत्महत्या गर्न लाग्दा उनकी नन्दले देखेकी थिइन्।
उनले तत्कालै डोरी काटेर प्रेमाको ज्यान त बचाइन्। तर, प्रेमाले उनकी १ वर्षीया छोरीलाई पंखामा झुन्ड्याएर मारिसकेकी थिइन्।
प्रेमाले छोरीलाई मारेर आफू पनि आत्महत्या गर्न खोजेकी थिइन्। घटना आइतबारको हो।
रुपन्देही प्रहरीका अनुसार प्रेमासहित घटनामा संलग्न उनका श्रीमान् सासु, ससुरा र प्रेमाका प्रेमी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमति यादव, श्रीमान् २२ वर्षीय राजकुमार यादव र प्रेमाका प्रेमी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरी छन्।
यसरी सुरू भयो विवाद
रूपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलका अनुसार प्रेमा र राजकुमारबीच डेढ वर्षअघि बिहे भएको थियो। विवाहअघि प्रेमा र प्रदीपबीच प्रेम सम्बन्ध थियो। राजकुमारसँग विवाह हुनुअघि नै उनी गर्भवती भएकी थिइन्। यो कुरा प्रेमा र प्रदीप दुबैलाई थाहा थियो तर बिहे भएर आएको परिवारलाई थाहा थिएन।
बिहे भएको सात महिनामा प्रेमाले छोरीलाई जन्म दिइन्। छोरी जन्मेको एक सातापछि प्रेमाले आफ्नो पूर्वप्रेमीलाई यो कुरा मोबाइलमा सुनाइरहेकी थिइन्।
प्रेमा र प्रदीपबीच भइरहेको त्यो कुरा उनका श्रीमान् राजकुमारले पनि सुनेछन्। उनले आफूलाई धोका भएको ठाने। दुई जनाबीच विवाद सुरू भयो।
‘दिनहुँ झगडा हुने र प्रेमा एकदमै तनावको अवस्थामा आएर छोरी पनि मार्छु आफू पनि मर्छु भनी घटना गराएको देखिन्छ,’ प्रहरी उपरीक्षक पोखरेलले भने।
प्रेमा गर्भवती भएकाले उनले विवाह गएपछि परिवारमा समस्या हुन्छ भनेर प्रदीपले पहिला नै गर्भपतन गर्न सुझाव दिएका थिए।
‘तिम्रो नासो मसँग रहन्छ भनी प्रेमाले गर्भपतन गर्न इन्कार गरेको अनुसन्धानबाट खुलेको छ,’ पोखरेलले भने।
आइतबार यो घटना भएपछि ससुरा बुद्धिरामले नातिनीलाई दानव खोलामा लगेर गाडेका थिए।
गाडेको ठाउँबाट निकालेर बालिकाको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ।
पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।