राम्रोसँग आकाश नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका छन्।
हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।
समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ।
विमानस्थलका अनुसार भद्रपुर, विराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी, नेपालगन्जलगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ।
कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा ५ किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ।
बिहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान-अवतरण गर्न अनुमति नदिने गरेको जनाएको छ।
आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ ।
विमानस्थलका अनुसारका आजका लागि १५० उडान हुने तालिका थियो। मौसम क्रमशः खुल्दै छ, घाम लागेर कुइरो हट्ने वित्तिकै उडान-अवतरण सुचारू विमानस्थल स्रोतले जानकार दिएको छ।