हिजोआज काठमाडौं उपत्यकाभित्र विद्युत् अनियमित हुन थालेको छ।
सिंहदरबार क्षेत्र, बानेश्वर, स्वयम्भू, अनामनगर, कीर्तिपुर, गौशाला क्षेत्रमा विद्युत् अनियमित भइरहेको गुनासा आएका छन्।
ललितपुरको इमाडोल, टीकाथली, चापागाउँ क्षेत्रमा पनि विद्युत् अनियमित भएको छ।
पछिल्लो दुई, तीन दिनदेखि विद्युत् झ्यापझ्याप जाने समस्या पनि रहेको पाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले भने ठाउँ-ठाउँमा समस्या देखिएकोले मर्मत गरिँदै आइएको बताएको छ।
‘सिंहदरबार क्षेत्रमा हिजो केही समस्या देखिएको थियो, मर्मत गरियो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘कतै ट्रान्सफर्मर र कतै केवलहरूमा समस्या आइरहेका छन्, हामीले मर्मत गरिरहेका छौं।’
तर उपभोक्ताहरूले भने एकपटक विद्युत गएपछि घटौंसम्म पनि मर्मत नहुने गरेको गुनासो गरेका छन्।
वर्षातले पनि विद्युत् नियमित गर्न समस्या भइरहेको उनले बताए।
‘कतै रूखपातले तारमा छोएको छ कतै ट्रान्सफर्मर ओभरलोड भएका छन्,’ उनले भने, ‘केवलहरूमा पनि सर्ट भएको छ।’
जाडो याममा काठमाडौंमा विद्युतको माग पनि बढ्ने उनले बताए।