झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा हुन्।
घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ।
झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।
वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ।
यता कन्काई नदीको बगरमा लगाइएको खरबुजा असिनाले फुटाएर क्षति पुर्याएको छ। यो सिजनमा झापाका नदीका बगरमा खरबुजा खेती हुने गरेको छ।
स्थानीय कुन्दन कुमार चौधरीका अनुसार २५ बिगाहामा लगाइएको खरबुजा असिनाले खत्तम बनाइदिएको छ। माई खोलाको बगरमा सयौं किसानले खरबुजाको खेती गर्दै आएका छन्।