सल्यान प्रहरीले जेठ २० गते दिउँसो जंगलबीच रूखमा झुण्डिए पनि शरीरका विभिन्न भागबाट रगत बगिरहेको अवस्थामा मृत फेला परेका युवकको हत्या भएको ठहरसहित आफ्नो प्रतिवेदन बुझाएको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन पहिले बुझाइएको हो। जसमा प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा प्रहरी हिरासतमा रहेका चार जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाउन माग दाबी गरेको छ।
पोष्टमर्टम रिपोर्टमा पनि युवकको मृत्युको कारण शंकास्पद रहेको उल्लेख छ।
प्रहरीको प्रतिवेदनमा मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिलाई मातेका उनका साथीहरूले भविष्यमा आफूहरू अप्ठेरोमा पर्ने वा उपचारमा धेरै खर्च लाग्न सक्ने ठानेर घाइतेलाई अस्पताल लैजानुको साटो मिलेमतोमा नजिकैको जंगलको रूखमा लगेर झुण्ड्याएर हत्या गरेको देखिन आएको उल्लेख छ।
‘क्षणिक कच्चा बुद्धि र सोचले मदिराले मातेका साथीभाइहरूले आफ्नै घाइते साथीलाई रूखमा लगेर झुण्ड्याएर आफै मरेको हो भनेर देखाउन खोजेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ,’ डिएसपी न्यौपानेले भने।
पक्राउ परेका कसैले पनि त्यो अभियोग प्रहरी समक्ष बयानका क्रममा स्वीकार गर्न भने तयार नभएको अनुसन्धान अधिकारीहरू बताउँछन्।
‘जति गर्दा पनि उनीहरू बोल्दै बोलेनन्,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘घटनाबारे पक्राउ परे कसैले पनि मुख नै नखोले पनि हाम्रो अनुसन्धानले उनीहरूले मोटरसाइकल दुर्घटनाका घाइतेलाई उपचारका लागि नलगेर रूखमा लगेर झुण्ड्याएको खुल्न आएको छ।’
डिएसपी न्यौपानेका अनुसार झुण्ड्याइएका युवक मोटरसाइकल दुर्घटनामा परेको पुष्टि भइसकेको छ।
‘घाइतेलाई हस्पिटल लैजानका लागि राति १ बजेतिर अटो चालकसँग सम्पर्क गरेको कुरा पनि अनुसन्धानबाट पुष्टि भइसकेको छ,’ डिएसपी न्यौपानेले भने।
यो बीचमा अटोवालासँग पनि प्रहरीले बयान लिएको थियो। उनले राति १ बजे आफूलाई एक जना युवाले फोन सम्पर्क गरेको तथा आवश्यक परेमा फेरि सम्पर्क गर्ने भने पनि दोहोर्याएर सम्पर्क नगरेको बयान गरेका थिए।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसी खोजी गर्ने क्रममा जेठ २० दिउँसो डुडाखोल–कुवाखोलामा वन क्षेत्रमा मृत फेला परेका थिए।
झुण्डिएको अवस्थामा फेला परेका शंकर जेठ १९ गते दिउँसो साथीहरूसँग वनगाड कुपिण्डे–४ मा लागेको मेला हेर्न गएका थिए।
सँगै मेला हेर्न गएकामध्ये कुपिण्डे–६ का २७ वर्षीय साजन बिसी, सोही ठाउँका २६ वर्षीय राजु बुढा क्षत्री र २१ वर्षीय सोमराज केसीलाई प्रहरी शंकरको शव फेला परेलगत्तै पक्राउ गरेको थियो।
प्रहरीका अनुसार यी तीनमध्ये एक जना शंकरका तेह्रदिने गोत्यार हुन् भने अर्का एक जना सशस्त्र प्रहरीका भगौडा हुन्। त्यो दिन मेलाबाट फर्किंदै गर्दा उनीहरू स्थानीय अन्य साथीहरूसँगै मिलेर सल्ली बजारमा मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि शंकरसहित पक्राउ परेका तीन जना घर जानका लागि आपसमा छुट्टिए मोटरसाइकलमा सँगै यात्रा गरे। यात्राका क्रममा बीचबाटोमा थप एक जनाको साथी पेशलको घर आयो। उनको पसल पनि थियो। सोही पसलमा उनीहरूले गुट्का किनेर खाए। एकछिन बसेर गफगाफ गरे।
रूखमा बरियोको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका शंकरको घर पनि त्यो पसलदेखि केही उकालोमा माथि नजिकै छ। रात परि सकेको थियो। तर, सोमराज केसीको घर त्यहाँबाट झन्डै ९ किलोमिटर टाढा थियो। जहाँ जान आधा घन्टा बढी समय लाग्छ। पहाडको बाटो त्यो पनि कच्ची–उकालो वरालो र मोडहरू प्रशस्तै छन्। शंकरले मोटरसाइकल हाँके र सोमराज पछाडि बसे।
डिएसपी न्यौपानेका अनुसार पक्राउ परेकाहरू मोटरसाइकल शंकरले नै चलाएको दाबी गर्दै आएको भए पनि त्यो कुरा यकिन भइसकेको छैन। अर्को मोटरसाइकलमा साजन बिसी र राजु बुढा क्षत्री सवार थिए। पसल भएका पेशल भनिने व्यक्ति उनीहरूसँग गएनन्। उनी घरमै बसे।
प्रहरीका अनुसार आउँदा वा जाँदा कतै पनि पेशलको संलग्नता खुल्दैन।
त्यही बीचमा शंकर र सोमराज सवार मोटरसाइकल दुर्घटनामा पर्छ। त्यो दुर्घटनामा शंकरलाई चोटपटक लाग्छ। शरीरका विभिन्न भागबाट रगत बगिरहेको हुन्छ। दुर्घटनापछि उनीहरू बीचबाटै फर्किन्छन्।
प्रहरीका अनुसार सोमराजले मोटरसाइकल चलाएर घाइते शंकरलाई पछाडि बसाएर ल्याउँछन्। उनीहरू फेरि फर्केर घाइते शंकरलाई ल्याएर पेशलको पसल भए नजिक आइपुग्छन्। त्यहाँ उनीहरूका बीचमा घाइते शंकरलाई हस्पिटल लैजाने आपसमा सल्लाह हुन्छ।
सोमराजका जेठान दीपक रावतको घर त्यहाँदेखि केही पर थियो। मोटरसाइकल चढेर दुई जना रातिमा दीपकलाई लिन जान्छन्। घाइते शंकरलाई रातिमा एकान्तस्थल बाटोमा नजिकका नातेदार एक जनाले त्यही बाटोमा कुरेर बसेका हुन्छन्। जुन कुरा प्रहरी हिरासतमा रहेका सबैले स्वीकार गरेका छन्। दीपकसहित थप दुई जना फर्केर आएपछि शंकर त्यहाँ फेला परेनन् वा थिएनन् भन्ने दाबी आरोपितहरूको छ।
घाइते शंकरलाई कुरेर बसेका एक आफन्तले उनी पानी खान जान्छु भनेर तलतिर झरेको दाबीसहितको बयान प्रहरी समक्ष गरेका छन्। अन्य तीन जनाले पनि शंकर नआएपछि– घर गयो होला भन्ने ठानेर सबै आ–आफ्नो घरतर्फ लागेको बयान गरेका छन्।
घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू भने यहाँनेर उनीहरूले बनावटी र नाटकीय कुरा गरेको ठान्छन्।
‘दुई वटा मोटरसाइकल छँदाछँदै घाइते अवस्थाका शंकरलाई रातिमा तत्कालै हस्पिटल किन लगिएन? भन्ने कुरा प्रमुख आशंकाको घेरामा छ,’ डिएसपी न्यौपानेले भने, ‘अर्कोतर्फ घाइते अवस्थाका शंकर अस्पताल नगई आफै कसरी झुण्डिन जान सक्छन् भन्ने कुराले ठूलो आशंका पैदा हुन्छ।’
त्यस्तै झुण्डिएको अवस्थामा फेला परेका शंकरले झुण्डिन प्रयोग गरेको भारी बोक्न प्रयोग हुने नाम्लो (बरियो) रातिमा त्यो एकान्त तथा जंगल भएको स्थलमा कहाँबाट फेला पारे? भन्ने कुराले पनि आशंका पैदा भएको डिएसपी न्यौपाने बताउँछन्।
प्रहरीले घटना अनुसन्धानका लागि हिरासतमा रहेकाहरूको पोलिग्राफ टेष्ट पनि गरेको थियो। त्यो टेष्ट गर्दा पनि उनीहरूले झुट बोलेको आधार फेला परेको दाबी प्रहरीको छ।
सुरूमा तीन जनाविरूद्ध मात्रै किटानी जाहेरी परे पनि घटना अनुसन्धानबाट संलग्ता खुलेपछि पछिल्लो समय पक्राउ परेका दीपकले पनि मध्यरातिमा सोमराज ज्वाइँ आफ्नो घरमा आएर शंकर दुर्घटनामा परेको हुँदा हस्पिटल लैजान सहयोग गर्नुपर्यो भन्ने बयान प्रहरी समक्ष गरेका छन्। तर, फर्केर घाइते भएको ठाउँमा आउँदा शंकर फेला नपरेको हुँदा आफूहरू घर गएको बनावटी कुरा उनीहरूले प्रहरी समक्ष गरेका थिए।
‘घाइते व्यक्ति त्यो पनि मध्य रातिमा पानी खान जान्छु भन्दै एक्लै पहाडबाट तल झर्ने कुरा विश्वास गर्न नसकिने कुरा हो,’ डिएसपी न्यौपानेले भने, ‘उनीहरू फर्केर आउँदा त्यहाँ घाइते थिएनन् भने पनि खोज्दै उनीहरू घरसम्म पुग्न सक्थे र त्यसो नगरे पनि फोन सम्पर्क गर्न सक्थे, तर त्यस्तो केही गरेको देखिँदैन।’
हस्पिटल लैजाने भनेर जम्मा भएकाहरूले उपचारमा खर्च धेरै लाग्ने व भोलि आफूहरू पनि फसिने सोचका साथ मध्यरातिमा मिलेर घाइते शंकरलाई वन जंगलको बीच रूखमा झुण्ड्याएको हुन सक्ने आशंका प्रहरीको छ।
प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा यिनै आधारहरू प्रस्तुत गर्दै पक्राउ परेका चारै जनाविरूद्ध कतर्व्य ज्यान मुद्दा चलाउन माग दाबी गरेको हो।
मोटरसाइकल अर्काको हुनु, चालकसँग सवारी चालक अनुमति पत्र नहुनु जस्ता कारणहरूले पनि उनीहरू आत्तिएर गलत निर्णयमा पुगेको दाबी प्रहरीको छ।
यो पनि:
सल्यानमा २३ वर्षीय युवक मृत फेला परेको घटनामा तीन जना पक्राउ