हाम्रो नाक, मुख, श्वासप्रश्वास अनि फोक्सोमा जाने नलीहरू साँघुरो भइदियो भने सुतेको बेला आवाज आउने हुन्छ। यसलाई नै घुरेको भनिन्छ।
विशेष गरेर मोटो मान्छेहरूको जिब्रो पछाडि फर्किने अनि श्वासप्रश्वासको नली साँघुरो भइदिने हुन्छ। जसले गर्दा निद्रामा घुर्ने समस्या आउँछ। निद्रामा घुर्ने (स्नोरिङ) भएपछि सास पनि रोकिने समस्या हुन्छ।
कहिलेकाहीँ घुर्नुलाई सामान्य मानिन्छ। त्यो भनेको सिरानी नमिलेर अथवा सुताइ नमिलेर पनि हुन्छ। जसलाई 'प्राइमरी स्नोरिङ' समेत भनिन्छ।
अर्को गम्भीर खालको घुराइ हुन्छ।
यस्तो बेला घुर्दाघुर्दै बिरामीको सास रोकिने हुन्छ। जसलाई स्लीप एप्निया भनिन्छ।
हरेक पटक सुत्दा घुर्ने अनि घुर्दाखेरि सास पनि रोकिने हुन्छ। घुरेको देख्दा अरूलाई नै अप्ठ्यारो हुन्छ अथवा डरलाग्दो जस्तो हुन्छ भने त्यो वास्तवमै निद्राको समस्या हो। त्यसलाई हामीले समाधान गर्नुपर्छ अथवा परीक्षण गरेर उपचार गर्नुपर्छ।
घुर्नुको कारण र यसले निम्त्याउने समस्या
निद्रामा घुर्नुका केही कारण छन्। विशेष गरेर मोटो मान्छेको घाँटीको नसा साँघुरो हुन्छ। जिब्रोमा बोसोको मात्रा धेरै भएर सुत्ने बेलामा जिब्रो पछाडि फर्किदिने हुन्छ। अनि श्वासनली साँघुरो भइदिन्छ।
मोटो मान्छेको घाँटीको लम्बाइ पनि साँघुरो हुन्छ। जसले गर्दा निदाउँदाखेरि सासनली बन्द भएर घुर्नेसँगै सास रोकिने हुन्छ।
घुर्ने समस्या अनि सास रोकिने पनि भएपछि यसले विभिन्न समस्या निम्त्याउँछ। घुर्दाखेरि र सास रोकिँदा मस्त किसिमको निद्रा हुँदैन। अर्थात् मान्छे सुतेको हुन्छ तर पर्याप्त निद्रा हुँदैन। सास रोकिँदा मुटुले पनि धेरै काम गर्नुपर्छ। मान्छे निदाउन त निदाएको हुन्छ तर मुटुको धड्कन १३०, १४० पुग्छ भने अक्सिजनको मात्रा घटिरहेको हुन्छ। यस्तो भएपछि फोक्सोले पनि, दिमागले पनि बढी काम गर्नुपर्ने हुन्छ। त्यही भएर हाम्रो शरीर सुते पनि विभिन्न अंगहरूले अझ धेरै काम गरिरहेको हुन्छ। त्यसले नै जटिलता ल्याउने हो।
कहिलेकाहीँ मान्छे सन्चै सुतेको छ तर प्यारालाइसिस अथवा स्ट्रोक हुन्छ। अझै कहिले त हृदयघात भएर मृत्यु भएको घटना समेत घटेका छन्।दिमागको नसा फुटेको अथवा सुकेको, कोलस्ट्रोल, थाइरोइडको समस्या आउने, डाइभिटिज, सुगरको समस्या आउने लगायतका विभिन्न खालका रोगहरू निद्राको कारणले गर्दा हुन्छ।
धेरैलाई के लाग्छ भने निद्रामा घुर्ने पनि कुनै समस्या हो र? धेरैले यसलाई सामान्य ठानिरहेका हुन्छन्। आफूलाई विभिन्न रोग लागेपछि मात्र जँचाउन जाने चलन छ। कोही सुगरको समस्या लिएर आउँछन् अनि कोही मुटुको लिएर आउँछन्। कतिले मुटुमा स्टेन्ट राखेका हुन्छन् भने कतिले जाली राखेका हुन्छन्। कसैले प्रेसरको ३/४ थरी औषधि खाइरहेको हुन्छ भने कतिलाई प्यारालाइसिस भइसकेको हुन्छ। निद्राको कारणले हो कि भनेर परीक्षण गर्यो भने त्यही पत्ता लग्छ। त्यसैले निद्रामा समस्या आयो भने यसको परीक्षण गरेर समाधान गर्न सकेमा धेरै समस्या आफै सकिन्छ।अर्थात् बेलैमा घुर्ने समस्यालाई पार लगाउन सकियो भने सुगर, प्रेसर, थाइरोइड, मुटुको समस्याबाट जोगिन सकिन्छ।
घुर्दाघुर्दै मान्छेको सास रोकिएपछि अक्सिजनको मात्रा कम हुन्छ अनि अक्सिजनको मात्रामा कमी भएर मुटुले धेरै काम गर्नुपर्ने हुन्छ। जसले गर्दा मुटुको धड्कन बढ्छ भने प्रेसर पनि बढ्ने हुन्छ। यस्तो बेला फोक्सोले पनि धेरै काम गर्नुपर्छ। दिमागले पनि धेरै काम गर्छ। अर्थात् निदाएको बेला समेत शरीरका अंगहरू सक्रिय हुन्छन्। मान्छे विस्तारामा सुतिरहेको छ तर दौडिएको जस्तै हुन्छ। अक्सिजनको मात्रा घट्ने, धड्कन बढ्ने, प्रेसर बढ्ने हुँदा हृदयघातको खतरा समेत रहन्छ।
घुर्ने मान्छे जहाँ पनि निदाउँछ
घुर्ने मान्छे जहाँ पनि तत्कालै निदाउन सक्छ। कतिले कस्तो मजाले निदायो भनेर समेत भन्छन्। तर यसको कारण के हो भने घुर्ने मान्छेलाई पर्याप्त निद्रा पुग्दैन। कोही पनि व्यक्तिलाई ६ देखि ७ घण्टा निदाउनु पर्छ। तर घुर्ने व्यक्तिहरू रातिमा त्यसरी निदाउन सक्दैनन्। त्यही भएर त्यस्ता व्यक्तिहरू कतै बस्नसाथ निदाउन सक्छन्। बैंकमा लाइन बस्दा समेत झुलिरहेका हुन्छन्। बसमा चढ्नसाथ निदाइहाल्ने जहाजको २० मिनेटको यात्रा छ भने पनि निदाइहाल्ने हुन्छ। जति निदाउन पर्ने हो त्यो बाँकी रहेकाले जतिबेला पनि निदाउन खोज्ने, झुम्म हुने हुन्छ। रातभरि सुतेको छ तर मस्त निद्रा भयो भनेर कहिल्यै नभन्ने हुन्छ। कहिलेकाहीँ गाडी चलाउँदा/चलाउँदै झुपुक्क निदाएर दुर्घटना परिरहेको हुन्छ। घुर्ने समस्याले गर्दा हाम्रो सम्झन सक्ने क्षमतामा समेत असर पर्छ।
घुर्ने व्यक्तिहरूको शारीरिक सम्बन्धमा समेत असर परिरहेको हुन्छ। घुर्ने मान्छेहरू पर्याप्त निदाउन नसकेकै कारण पल्टिनसाथ निदाइरहेका हुन्छन्।
घुर्ने समस्याले गर्दा प्रजनन क्षमतामा समेत असर परिरहेको हुन्छ। कतिपय पार्टनरले यस्तो समस्या ल्याएका हुन्छन्। त्यही भएर निद्राले शारीरिक सम्बन्धलाई पनि असर पार्छ।
त्यस्तै अरू बेला भन्दा ड्रिङ्स गरेको बेला धेरै घुर्ने गर्छन्।
घुर्ने मात्र समस्या हो भने त्यसलाई धेरै समस्या मान्न परेन सुताइको पोजिसन मिलाउँदा मात्र पनि हुन्छ।
जो हरेक दिन घुर्नुहुन्छ अनि घुर्दै गर्दा सास रोकिन्छ भने त्यसलाई हामीले समाधान गर्नुपर्छ।
कसरी गर्ने उपचार?
घुर्ने समया कुन तहको हो भनेर स्लिप स्टडी अथवा निद्राको जाँच गरिन्छ अथवा पोलसोम्नोग्राफी गर्छौं। यसको लागि अस्पतालमै बसेर पनि जाँच्न सकिन्छ भने पोर्टेबल मेसिन लगेर घरमै परीक्षण गर्न सकिन्छ। सुत्नसाथ निदाइन्छ कि निदाइँदैन त्यो मस्त खालको निद्रा हुन्छ कि हुँदैन सबै परीक्षण गरिन्छ। दाहिने कोल्टे पर्दा समस्या छ कि देब्रे अनि उत्तानो पर्दा समस्या छ भनेर हेरिन्छ। हस्पिटलमा बस्दा भिडिओ समेत रेकर्ड हुन्छ।त्यसमा रोगको अवस्थाहरू थाहा हुन्छ।
कुन तहको समस्या रहेछ त्यो परीक्षणबाट थाहा पाउन सकिन्छ। आधा मिनेटदेखि १ मिनेटसम्म सास रोकिने भयो कि भनेर प्रत्येक घण्टाको रेकर्ड हेरिन्छ। ३० सेकेन्डदेखि १ मिनेटसम्म सास रोकिनुलाई गम्भीर खालको स्लिप एपनिया भएको मानिन्छ। त्यसको लागि सुत्दाखेरी एउटा अटोसिप्याप मास्क जस्तो लगाउनु पर्छ। जसले गर्दा सुत्दाखेरि सास रोकिन दिँदैन। मुख्य कारण भनेको सुत्दा सास रोकिने हो। त्यो मेसिनले सास रोकिन दिँदैन। सास नरोकिनसाथ सबै कुरा मिल्दै जान्छ।
माइल्ड, मोड्रेट खालको समस्या छ भने तौल घटाउने, आफ्नो बानी परिवर्तन गर्ने लगायत गर्नुपर्छ। यसले गर्दा सास रोकिने समस्या कम हुँदै जान्छ।
कतिपय अवस्थामा भने के कारणले हो थाहा हुँदैन।अनि वंशाणुगत कारण पनि हुन्छ। त्यस्तो अवस्थामा भने जीवनभर सिप्याप मास्क लगाउनुपर्ने हुन्छ।
(नर्भिक अस्पतालमा कार्यरत छाती तथा निद्रा रोग विशेषज्ञ डा.अच्युतभक्त आचार्यसँग हामीले घुर्ने समस्या यसको कारण र उपचारबारे भिडिओ कुराकानी गरेका छौं।)