विराटनगरस्थित नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी एक सदस्य राज्यलक्ष्मी गोल्छा र नेकपा एमालेबीच 'लभ एन्ड हेट' को पुरानो नाता छ।
एमालेसँग राम्रो सम्बन्ध भएका बेला उनी संविधानसभामा समानुपातिक सदस्य बनेकी थिइन्। तर त्यही बेला झन्डै पार्टी कारबाहीमा पनि परेकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवस्थापिका संसदमा विश्वासको मत दिन अनुपस्थित रहेको भन्दै एमालेले उनलाई संविधानसभाबाट राजीनामा दिन दबाब दिएको थियो। उनले सार्वजनिक रूपमै एमालेका धेरै नेताविरूद्ध केही संगीन आरोप लगाएकी थिइन्।
खासगरी कुन नेताले आफूबाट कति पैसा लगेको भन्नेबारे उनले नेताको नाम र रकमको अंक किटेरै भनेकी थिइन्।
संयोग यस्तो परेको छ, त्यस बेला राज्यलक्ष्मीले नाम किटेका धेरै एमाले नेता पार्टीको ११औं महाधिवेशनबाट पदाधिकारीदेखि केन्द्रीय कमिटीका विभिन्न पदमा निर्वाचित भएका छन्। यही बेला राज्यलक्ष्मीको पनि राजनीतिक चर्चा दोहोरिएको छ।
तर यसपटक उनको राजनीतिक चर्चा एमालेसँग होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएर भइरहेको छ।
रास्वपाले समानुपातिकतर्फ मधेसी कोटाबाट सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा राज्यलक्ष्मीको नाम सार्वजनिक गरेको छ। सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा कोशी प्रदेशबाट उनको नाम समावेश भएको हो।
उनीसहितका सम्भावित उम्मेदवारहरूसँग रास्वपाले शनिबार छलफल गर्ने कार्यक्रम तय गरिसकेको छ।
नेपालकै चर्चित उद्योग हुलास वायरकी प्रमुख सञ्चालक राज्यलक्ष्मी संविधानसभाको कार्यकाल पूरा गरेयता राजनीतिक गतिविधिमा निष्क्रियजस्तै थिइन्। रास्वपाको समानुपातिक तर्फबाट सम्भावित प्रारम्भिक सूचीमा परेपछि भने उनले आफ्नो विगतको अनुभव काम लाग्न सक्ने बताएकी छन्।
'उहाँहरूले आफ्नै खुसीले मेरो नाम सम्भावित सूचीमा राख्नुभएको रहेछ, यो राम्रै कुरा हो नि,' शुक्रबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै राज्यलक्ष्मीले भनिन्, 'यदि फेरि देशको सेवा गर्ने मौका पाएँ भने गर्छु। शिक्षा क्षेत्रमा म काम गर्नेछु।'
विराटनगरमा राज्यलक्ष्मी र उनको परिवारको औद्योगिकसँगै शिक्षा क्षेत्रमा पनि ठूलो लगानी छ। उनैले स्थापना गरेको कीर्तिका फाउन्डेसनले युरो किड्स प्लस-टू र कलेजहरू सञ्चालन गर्छ।
संविधानसभामा निर्वाह गरेको जिम्मेवारीको अनुभव आफूसँग भएको र मौका पाए त्यो अनुभवका आधारमा अझै धेरै काम गर्ने लक्ष्य रहेको उनले सुनाइन्।
'संविधानसभाको अनुभवले निश्चय नै धेरै कुरा सहयोग हुनेछ,' उनले भनिन्।
आफू विवेकशील साझा पार्टी 'ज्वाइन' गर्ने तयारीमै रहेका बेला यी दुई दलले एकता गरेपछि रास्वपामा गएको बताउने राज्यलक्ष्मीले ६ महिना अघिदेखि नै पार्टीका नेताहरूसँग कुराकानी भइरहेको जानकारी दिइन्।
'म त विवेकशील ज्वाइन गर्ने विचारमा थिएँ,' उनले भनिन्, 'दुई पार्टी एकै भएपछि म रास्वपामा भएँ। म ६ महिनाजति भयो, यता सम्बद्ध भएको।'
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना गोल्छा परिवारका सदस्य महेन्द्रकुमार गोल्छासँग बिहे गरेकी उनको जन्म भारतको चेन्नइमा भएको थियो।
उद्योगी व्यवसायीका नेतासमेत रहेका महेन्द्रको सवारी दुर्घटनामा निधन भएपछि राज्यलक्ष्मी सामाजिक क्षेत्रमा सक्रिय भएकी थिइन्। आफ्नो बुबा दक्षिण भारत तमिलनाडुको गर्भनर पदमा दुई पटक पुगेको र बुबाकै प्रेरणाले आफू राजनीतितिर आकर्षित भएको उनले विगतमा बताउने गरेकी थिइन्।
जति बेला उनी एमालेबाट समानुपातिक सभासद बन्दै थिइन्, त्यस बेला एमालेसँगको पारिवारिक सम्बन्धले नै मुख्य काम गरेको उनले बताएकी थिइन्।
'मदन भण्डारी, सुमन प्याकुरेल, सुबोध प्याकुरेलहरूसँग परिवारको राम्रो सम्बन्ध रहेकै कारण म एमालेमा लागेको हुँ,' उनले त्यसबेला भनेकी थिइन्, 'त्यही पुरानो पारिवारिक सम्बन्धका आधारमा संविधानसभामा मौका पाएको हुँ।'
सभासद बन्दै गर्दा यसो भनेकी उनले पार्टीले राजीनामा गर्न दबाब दिएपछि भने एमाले नेताहरूले आफूबाट ठूलो रकम लिएको आरोप लगाएकी थिइन्।
उनको संविधानसभा प्रवेश रामकुमारी झाक्रीलाई रोकेर भएको भनेर सुरूमा विवाद भएको थियो। २०६२–६३ को जनआन्दोलनकी 'पोस्टर गर्ल' मानिने झाक्रीको बदलामा एमालेले राज्यलक्ष्मीलाई चुनेको भनेर एमाले नेताहरू आलोचनाको केन्द्रमा परेका थिए।
रामकुमारी स्वयंले पार्टी नेतृत्वले राज्यलक्ष्मीलाई चुनेर आफूलाई उपेक्षा गरेको गुनासो सार्वजनिक रूपमै गरेकी थिइन्। 'सर्वहाराको 'मुक्ति' को नारा लगाउने एमालेले आफ्नो वर्गीय चेत गुमाएको आरोप पनि लागेको थियो।
२०७२ कात्तिक दोस्रो सातासम्म आइपुग्दा भने एमाले नेताहरूले उनलाई संविधानसभाबाट राजीनामा दिन दबाब दिन थालेका थिए।
ओलीलाई मत दिन नगएको आरोप पार्टीले लगाउँदा उनले आफू उपचारका लागि मुलुक बाहिर रहेको प्रस्टीकरण दिएकी थिइन्। तर केही नेताले तत्कालीन अध्यक्ष केपी ओलीसँग सुलह गराएपछि एमाले सभासदकै रूपमा उनले दोस्रो संविधानसभामा पूरा कार्यकाल जिम्मेवारी निर्वाह गरेको एमाले नेताहरू बताउँछन्।
एमालेले पदबाट राजीनामा मागेपछि आक्रोशित बनेकी राज्यलक्ष्मीले २०७२ कात्तिक ८ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर क–कसलाई कति पैसा दिएको भनेर सार्वजनिक गरेकी थिइन्।
'मैले एमाले पार्टी र नेताहरूलाई अहिलेसम्म करिब ७ करोड रूपैयाँ चन्दा दिएको छु,' उनले भनेकी थिइन्।
एमालेसँगको विवाद र संविधानसभाको कार्यकाल पूरा गरेर आफ्नै उद्यममा व्यस्त राज्यलक्ष्मीलाई उनको अनुभवका आधारमा प्रारम्भिक सूचीमा राखेको रास्वपा कोशीका एक नेताले बताए।
'नेताहरूले योगदान र अनुभवका आधारमा नाम समेटिएको भनेको सुनेको छु,' कोशी प्रदेशका एक नेताले भने।
प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङले भने सबैले स्वेच्छिक रूपमा आवेदन दिएको बताएकी छन्।
'पार्टीले आवेदन मागे अनुसार देशभर ३३३ जनाभन्दा बढीले स्वेच्छिक आवेदन दिनुभएको हो। हामीले नाम समेटेको होइन,' तामाङले भनिन्, 'कोशीमा अझै पनि आवेदन आउने क्रम जारी छ। सबैसँग शनिबार हरेक प्रदेशमा पार्टीले छलफल गर्नेछ।'
***