सुदूरपश्चिमको बझाङबाट दुलही लिन बैतडी पुगेका माधवप्रसाद जोशीले माघ २२ गते बिहीबारको दिन जिन्दगीभर भुल्ने छैनन्।
किनभने, त्यही दिन उनको पुर्चौडी गाउँकी जानकी जोशीसँग धूमधामसँग बिहे भयो। अनि त्यही साँझ उनले आफ्नो बिहेमा जन्ती गएको बस भिरबाट खसेर भएको कहालीलाग्दो दुर्घटनामा १३ जना नजिकका आफन्त गुमाउनुपर्यो।
माघेझरी सकिएपछि घमाइलो बनेको त्यही दिनसँग जोशी दम्पतीको जीवनको ठूलो हर्षसँगै भयंकर विस्मात गाँसिएको छ।
यस कारण — दुलही अन्मिएपछि पुर्चौडीको पहाड छाडेको खचाखच जन्तीबस अचानक भिरबाट खसेको खबर जिल्ला, प्रदेश हुँदै देशैभर फैलिहाल्यो। ४९ जना सवार बस पछाडिबाट गुल्टिएर करिब १५० मिटर तल खस्दा १३ जनाको ज्यान गयो। गम्भीर घाइते भएकाहरू डडेलधुरा र धनगढीका अस्पताल पुर्याइए।
३१ वर्षीय दुलहा जोशी र उनकी २४ वर्षीया दुलही भाग्यले बाँचे किनभने उनीहरू जन्ती बोकेको बसमा थिएनन्।
त्यो कहालीलाग्दो साँझ सम्झिँदै दुलहा जोशीले भने, 'म, दुलही, उनको भाइ, मेरा हजुरबुबा र गुरू (चालक) बोलेरो गाडीमा थियौं। फोनमार्फत दुर्घटनाको खबर आयो। धेरै हताहती भयो भन्ने सुनेपछि छाँगाबाट खसेजस्तै भयौं।'
दुर्घटनालगत्तै दुलहा घर पुगेर दुलही भित्र्याउनुको सट्टा जोशी र स्थानीयवासी मृतक वा घाइते आफन्तको शव वा शरीर तल खोँचबाट निकाल्न व्यस्त रहे।
एक दिनपछि बल्ल शवको पहिचान भयो। पर्सिपल्ट जोशी निवासबाट सात जनाको शव यात्रा नजिकैको आर्यघाटतर्फ अघि बढ्दा बझाङ र बैतडीका पहाडमा बयान गर्नै नसकिने बैराग्यसँगै घनघोर सन्नाटा छाउन पुग्यो।
नवविवाहिता दुलहीसँग मधुमास बिताउने समयमा दुलहा जोशी आफ्ना ठूला बाबा, काकाहरू र काकाका छोराहरूको काजकिरियामा सघाउन व्यस्त छन्।
चुनावसँगै ह्वात्तै बढेको जोखिम
गत बिहीबार बैतडीको पुर्चौडी जन्ती बस दुर्घटनामा ज्यान गुमाएका जोशी परिवारका सदस्य र आफन्तको अन्तिम संस्कार शनिबार बझाङमा भएको थियो। तस्बिर सौजन्यः नारायण अवस्थी
बैतडीमा जोशी परिवारका धेरै सदस्य तथा आफन्तको ज्यान लिएको सडक दुर्घटनापछिका एक सातामा नेपालमा थप सडक दुर्घटना भइसकेका छन्।
यो लेख तयार पार्दैगर्दा घातक दुर्घटनाका थप खबर आइसकेका छन्। यो सिलिसिला यति भयावह भइसकेको छ कि, सडकमा दैनिक ७ देखि ८ जनाको मृत्यु हुने गरेको छ। सरकारी आँकडा अनुसार सडक दुर्घटनाले बर्सेनि करिब २५ सय जनाको ज्यान लिन्छ। हजारौं घाइते वा अपांग समेत हुन्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढी, करिब ८५ सय छ।
यतिखेर पूरै देशलाई फागुन २१ मा हुने चुनावको चटारोले छोपेको छ। बैतडीमा बस दुर्घटना भएका दिन गत बिहिबार चुनावको प्रचारमा हुँइकिएको एक मोटरको ठक्करबाट रौतहटको इशनाथ नगरपालिका ४ मठियाकी चार वर्षीया अल्फा खातुनको ज्यान गयो।
ब्रिटेनको ब्रिस्टोलस्थित वेस्ट इंग्ल्यान्ड विश्वविद्यालका अनुसन्धानकर्ता पुष्पराज पन्त (विद्यावारिधि) को आकलनमा फागुन २१ गतेको चुनावसम्म यस्तै सडक दुर्घटनाले १५० जनाभन्दा बढीको ज्यान लिने र सयौंलाई घाइते वा अपांग बनाउने जोखिम हट्ने कुनै संकेत देखिएको छैन।
'सडक सुरक्षाप्रति सबै पक्षबाट भइरहेको लापरबाही नरोकिएसम्म यो अवस्थामा सुधार आउँदैन,' उनले भने।
बैतडी दुर्घटना अनुसन्धान
बैतडीको पुर्चौडीबाट बझाङ जोड्ने सडकको ३४ वर्षअघि शिलान्यास भएको थियो। तर अवस्था अझै उस्तै छ र सडकमा जोखिम कायमै छ। तस्बिर सौजन्यः नारायण अवस्थी
गत बिहिबार बैतडीमा (वा यो मंगलबार मन्थलीमा) कुनै विमान दुर्घटना भएको भए खबर विश्वव्यापी हुने थियो। दुर्घटनाको छानबिन गरी त्यस्ता घटना दोहोरिन नदिने उपाय खोज्न छानबिन समिति गठन हुने थियो। तर त्यसो भएको खबर सञ्चार माध्यमहरूमा तत्कालै आएन।
बैतडीका प्रहरी अधिकृत डिएसपी दीपक रायका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीले पुर्चौडी दुर्घटना छानबिनका लागि समिति गठन गरिसकेको छ। घटनास्थलको निरीक्षण र नियन्त्रणमा लिइएका चालक र सहचालकको भनाइमा साँधुरो घुम्ती भएको उकालो सडक र बसको यान्त्रिक अवस्थाका कारण बस भिरबाट खसेको हुन सक्ने उनले बताए।
'चालकको भनाइमा बसको ब्रेक फेल भएपछि बस भिरबाट गुल्टिएको थियो,' डिएसपी रायले भने।
के कतिपय घाइतेले भनेझैं चालकले मादक पदार्थ पिएका थिए?
'मेडिकल परीक्षण गर्दा चालकले मादक पदार्थ सेवन गरेको देखिएन। तर ३६ जना अट्ने सिट भएको बसमा ४९ जना चढेको देखियो,' डिएसपी रायले भने।
बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार घाइतेको उपचारसँगै पीडितलाई क्षतिपूर्ति दिने काम भइरहेको छ। साथै चालक र सहचालकविरूद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।
पुर्चौडी घर भई हाल धनगढीमा कार्यरत पत्रकार नारायण अवस्थीका अनुसार बैतडीको पुर्चौडीबाट बझाङ जोड्ने सडकको ३४ वर्षअघि शिलान्यास भएको थियो। तर अवस्था अझै उस्तै छ र सडकमा बिहीबारको जस्तो दुर्घटना दोहोरिने जोखिम कायमै छ।
विज्ञहरूका अनुसार नेपालका लुम्बिनी र सुदूरपश्चिम प्रदेश सडक दुर्घटनामा अन्य प्रदेशभन्दा अगाडि छन्। सुदूरपश्चिम ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिममा मात्र विगत ६ वर्षमा सवारी दुर्घटनामा १,०४६ जनाको ज्यान गयो, हजारौं घाइते भए।
त्यो क्रम त्यो प्रदेशमा वा पूरै देशमा रोकिने कुनै संकेत छैन। अझ चुनावी दौडधुप बढ्दै जाँदा त्यो जोखिम अझै बढ्ने खतरा झनै ज्वलन्त देखिँदैछ।
यो लेख तयार पार्दै गर्दा पूर्वको रामेछापबाट खबर आयो — मंगलबार बिहानै काठमाडौंबाट मन्थली हुँदै ओखलढुंगा जाँदै गरेको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गयो, ८ जना घाइते भए। तीमध्ये तीन जना आइसियूमा भर्ना थिए।
बुधबार बिहानै पश्चिमबाट अर्को खबर आयो — सल्यानको कपुरकोटको चोरखोला नजिकैको पिक अप जिप भिरबाट करिब २५० मिटर तल खस्दा चालकको मृत्यु भयो, कैयौं गम्भीर घाइते भए।
समाधान के?
विज्ञहरू भन्छन् — वर्षौंदेखि नेपालमा दोहोरिने सडक दुर्घटनाका शृंखला कुनै जादुको छडी चलाएर रातारात रोक्न सम्भव छैन; यसलाई उल्लेख्य रूपमा घटाउन यात्रुदेखि सञ्चालक र चालकदेखि स्थानीय निकाय लगायतका सबै सरोकारवाला उत्तिकै जिम्मेवार हुन जरूरी छ।
अझ चुनावको सिलसिलामा यातायातका गतिविधि अझै बढ्ने हुँदा यो झनै जरूरी छ।
बुधबार दुर्घटनापछि बढेको तनावबीच भएको सडक अवरोध खुलाउन रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको टोली पीडित पक्षसँग वार्तामा नै व्यस्त थिए। चालकको लापरबाहीका कारण बस तामाकोसी नदीमा खसेको भनिए पनि त्यसको अनुसन्धान गर्ने टोली गठन भइसकेको थिएन।
चुनावका बेला सडक यात्रा सुरक्षित बनाउन के पहल हुँदैछ भन्ने प्रश्नको जबाफमा प्रजिअ श्यामकृष्ण थापाको भनाइ यस्तो थियो — यातायात व्यवसायीहरू अघि सरेर थप सुरक्षित बनाउनुपर्छ। हामी प्रहरी लगाएर नियम परिपालनामा कडिकडाउ गर्छौं।
सडक सुरक्षा विज्ञ पुष्पराज पन्तका बुझाइमा निश्चित रूटमा चल्ने सवारी साधनले रिजर्भमा जन्ती वा पिकनिक जाने बेला नियम मिच्ने र दुर्घटनाको जोखिम बढ्न सक्छ।
'त्यसैले बस रिजर्भ गर्ने पक्षले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने वा नियम विपरीत चलाउन चालकलाई दबाब दिनु हुँदैन,' उनले भने।
सुदूरपश्चिमका दुई जना प्रजिअ आसन्न चुनावका दौरान सडक दुर्घटनाको जोखिम बढ्नेबारे सजग सुनिए।
बैतडीका प्रजिअ कृष्ण थापाका अनुसार सवारी साधनको आवतजावत बढ्ने अवस्थामा जिल्लाका सडक अवस्था सुधार्नुका साथै बैतडीमा रहेको विमानस्थल पनि चालु गर्ने पहल भइरहेको छ।
बझाङबा प्रजिअ मुकेश कुमार केशरी चाहिँ बढ्दो आवतजावतलाई ध्यानमा राखेर प्रहरी यातायात व्यवसायीका साथै सबै पालिकाहरूलाई सडकको अवस्था सुधार गर्न र नियम परिपालनामा कडाइ गर्न सर्वपक्षीय बैठक गर्ने तयारीमा छन्।
चुनावमा होमिएका दलहरूका घोषणापत्रमा सडक सुरक्षाको विषय अटाउने गरेको छ।
तैपनि अन्तहीन दुर्घटनाका खबरबीच प्रश्न तेर्सिएको छ — दीर्घकालसम्मका लागि नेपालका सडक सुरक्षित बनाउने उपाय के होला?
सडक सुरक्षा अनुसन्धानकर्ता पुष्पराज पन्त भन्छन्, 'सबभन्दा महत्त्वपूर्ण पाटो भनेको नीतिगत सुधार नै हो। संघदेखि प्रदेशसम्म अधिकार सम्पन्न सडक सुरक्षा परिषद गठन भएर सक्रिय हुनुपर्छ। ताकि ती परिषदले कुनै पनि दुर्घटना हुने बित्तिकै सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन सकून् र आवश्यक परे दण्ड सजाय गर्न सकून्। विभिन्न विकसित देशमा यस्ता परिषद गठन भएका छन् र तिनले सडक सुरक्षाका दिशामा उदाहरणीय काम गर्न सकेका छन्।'
बिहीबार बैतडी जन्तीबस दुर्घटनामा धेरै आफन्त गुमाएका दुलहा माधवप्रसाद जोशी पेसाले स्वास्थ्यकर्मी हुन्।
उनका विचारमा 'सबै सडक प्रयोगकर्ताले अनिवार्य नियम पालना गरेर सुरक्षाबारे सचेत नभएसम्म' अवस्थामा सुधार हुन सक्दैन।
उनले भने, 'सडकमा सबै पक्ष र सबैपक्ष संयमित र अनुशासित हुन अति जरूरी छ।'
यो पनि पढ्नुहोस् - बसको घातक ठक्कर लगत्तै गुम्यो आयुषाको ज्यान, दुर्घटनाबाट पाठ सिक्नुपर्दैन?
***