यही साल पुस २० गतेयता भएका तीन ठूला सडक दुर्घटनाले धेरैको ध्यान खिचे — पुस २० गते आइतबार साँझ ६ जनाको ज्यान जाने गरी भिमफेदीमा भएको जिप दुर्घटना; पुस २३ गते बुधबार काठमाडौंको जहरसिंहपौवा–साँखु ओरालोमा ५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटना; र, पुस २८ गते सोमबार बैतडीको विजयपुरनजिकै ४ जनाको ज्यान जाने गरी भएको अर्को जिप दुर्घटना।
तीन वटै घटनामा गाडी भिरबाट निकै तल गुल्टिएका थिए।
तर त्यसबीच भएका साना दुर्घटनाबारे धेरैले पत्तो नै पाएनन्।
साँखु बस दुर्घटनाको दुई दिनपछि, पुस २५ गते शुक्रबार, त्यसै क्षेत्रमा अर्को दुर्घटना भएको थियो। साँखु–चाबहिल चार लेन सडक खण्डको मूलपानीमा भएको स्कुटर दुर्घटनामा २३ वर्षीया आयुषा सिंखडाको मृत्यु भएको थियो। यो खबरले निकै कम सञ्चार माध्यममा मात्रै ठाउँ पायो।
दिउँसो १२ः१० बजेतिर तिवारी टोलमा भएको दुर्घटनाबारे उनका काका रूपक सिंखडाले भने, 'गुडिरहेको स्कुटरलाई कुनै मोटरसाइकलले अचानक ठक्कर दिएपछि उनी लडिछन्। त्यसपछि अर्कोतिरबाट तीव्र गतिमा आएको बसको चक्कामुनि परिछन्। उनलाई तत्कालै अस्पताल लगिए पनि घटनास्थलमै उनको ज्यान गइसकेको रहेछ।'
दुर्घटनापछि पूरै परिवार शोकमा डुबेको छ। ७६ वर्षका हजुरबुबा कृष्णप्रसाद सिंखडा किरिया बसिरहेका छन्।
मंगलबार म उनको घर पुग्दा घरमा श्रद्धाञ्जली दिन आउने आफन्तको भिड देखियो। कौसीमा पारिलो घाम लागेको थियो। तैपनि गरूड पुराण सुनिरहेका किरियापुत्रीको अनुहार मलिन थियो।
अगाडि बसेका आयुषा सिंखडाका बुबा बैकुण्ठ र आमा भवानी सामुन्ने टेबलमाथि सयपत्रीको मालाले बेरिएको जेठी छोरीको तस्बिरतर्फ हेर्दै टोलाइरहेका थिए।
'तीन छोरीमध्येकी हाम्री जेठी बाठी छोरी...जापान जाने तयारी कक्षाका लागि बानेश्वरतिर जाँदै थिइन्,' बैकुण्ठले आँसु रोक्न बल गर्दै भने, 'अचानक उनको दुर्घटना भएको खबर आयो। अस्पताल पुग्दा सबै सकिइसकेछ...। पढाइमा र सबै काममा ऊ सधैं पहिला हुन्थी। उसका धेरै योजना थिए, ती सबै अपूरै रहे।'
आयुषाको फेसबुक खाता बन्द छ किनभने उनले त्यसलाई लक गरेकी रहिछन्।
त्यहाँ उनले अध्ययन गरेका संस्थाका नाम छन् — आइआइएफटी स्कुल अफ इन्टेरियर नेपाल, काठमाडौं इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (किस्ट) र मिनिल्यान्ड इंग्लिस सेकेन्डरी स्कुल।
प्रोफाइल फोटोमुनि लेखेकी रहिछन् — All we have is Today❤️🔥 (हामीसँग आजको दिन मात्र छ)।
पुस २५ को घमाइलो दिन करिब १२:१० बजे त्यो क्रम सधैंका लागि टुट्यो।
सडक सुरक्षामा जारी लापरबाही
ट्राफिक नियम पालनाबारे सचेतना कार्यक्रमका सहभागीहरू। तस्बिर: ट्राफिक प्रहरी फेसबुक।
आयुषालाई कलिलो उमेरमै चुँडेर लगिदिने जस्तै दुई वा चारपांग्रे सडक दुर्घटना नेपालमा दिनैपिच्छे भइरहन्छन्। त्यसले मृतक वा घाइतेका परिवारजनलाई पर्न जाने आघात र पीडा बयान गरिसाध्य छैन।
दसवर्षे माओवादी द्वन्द्वका बेला करिब १७ हजार नेपालीले ज्यान गुमाए; त्यही अवधिमा सडक दुर्घटनामा त्योभन्दा बढी नेपालीले ज्यान गुमाएको अधिकारीहरू स्मरण गर्छन्।
आज पनि अवस्था उस्तै नै छ — नेपालको सडक सुरक्षाको अवस्था यति नाजुक छ, यहाँका सडकमा दैनिक ७ देखि ८ जनाको मृत्यु हुने क्रम जारी छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार बर्सेनि सडक दुर्घटनामा करिब २५ सय जनाको ज्यान जान्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो संख्या करिब ८५ सय छ।
ती दुर्घटनामा हजारौं घाइते हुन्छन्। सयौंको अंगभंग हुन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार बर्सेनि सडक दुर्घटनाका एक लाख घाइते विभिन्न अस्पताल पुग्छन्।
त्यस्तो नियतिले नजिकका आफन्तलाई आर्थिक बोझ त दिन्छ नै, नेपालको कुल गार्हस्थ्य उत्पादनमै करिब ७ प्रतिशतले क्षति गर्ने डब्लुएचओको आकलन छ।
अझै डरलाग्दो तथ्य यस्तो छ — डब्लुएचओको भनाइमा वर्षमा ८५ सय मानिस सडकमा मारिने दर भनेको प्रति एक लाख जनसंख्याको झन्डै ३० प्रतिशत हुन्छ। यो विश्वकै औसतभन्दा झन्डै दुई गुणा बढी हो।
जिउ नै सिरिंग पार्ने अर्को तथ्य चाहिँ यो हो — नेपालमा दोहोरिइरहने सडक दुर्घटनामा १५ देखि २४ वर्ष बीचका किशोर तथा युवा उच्च जोखिममा छन्। दुर्घटनामा मारिने वा घाइते हुनेमध्ये झन्डै ७० प्रतिशत दुईपांग्रेमा सवार यात्री छन्। काठमाडौंजस्ता सवारी साधनको चाप भएका नगरमा बालबालिका, पैदलयात्री तथा साइकल यात्रीले समेत मोटरको ठक्करबाट ज्यान गुमाएका उदाहरण छन्।
सडक दुर्घटना अनुसन्धानको पाठ
काठमाडौंमा बस चालकलाई ट्राफिक नियमबारे बताउँदै ट्राफिक प्रहरी। तस्बिरः ट्राफिक प्रहरी फेसबुक
अब प्रश्न उठ्छ — के नेपालमा दिनै वा हप्तैपिच्छे भइरहने सवारी दुर्घटनाको छानबिन र अनुसन्धान हुनु पर्दैन जसरी विमान वा हेलिकोप्टर दुर्घटनाको हुने गरेको छ? अनि त्यस्ता सडक दुर्घटनाबाट सरकार प्रहरी तथा सबै सडक प्रयोगकर्ताले पाठ सिक्नुपर्दैन?
उदाहरण — भिमफेदी र साँखु दुर्घटनाको अनुसन्धान कहाँ पुग्यो होला? ती दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा त्यस्तो हुन नदिने उपायको खोजी कसरी भइरहेको होला?
जबाफमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदी भन्छन्, 'हामी हरेक दुर्घटनाको अनुसन्धान गर्छौं। भिमफेदीको मकवानपुरले अनुसन्धान गर्दैछ। साँखु क्षेत्रमा खसेको बसको चालक नै अहिले अस्पतालमा भएकाले सोधपुछको काम बाँकी नै छ।'
करिब दस लाख सवारी साधान गुड्ने काठमाडौं उपत्यकामा यो आर्थिक वर्षको पुससम्म मात्रै ३३ सय वटा सवारी दुर्घटना भइसकेका छन्। तिनमा परेर सय जनाभन्दा बढीको ज्यान गइसकेको छ। ३३ सय जनाभन्दा बढी मानिस घाइते भएका छन्। उनीहरूमध्ये सय जनाभन्दा बढी गम्भीर घाइते छन्।
ती दुर्घटनाको अध्ययनपछि ट्राफिक प्रहरीले दुर्घटनाका प्रमुख कारण पहिचान गरिसकेको छ —
- तीव्र गति
- मापसे (मादक पदार्थ सेवन)
- क्षमताभन्दा बढी यात्रु
- लेन अनुशासन मिचाइ
एसपी सुवेदी भन्छन्, 'दिउँसोभन्दा राति बढी दुर्घटना हुन्छ। त्यसको प्रमुख कारण मापसे र तीव्र गति नै हो। यस्तो अवस्था सुधार्न हामी ट्राफिक सचेतना कार्यक्रम गरिरहेका छौं। त्यसमार्फत चालकको व्यवहार, सडकको अवस्था तथा सवारी साधनको अवस्थामा सुधार गर्ने कोसिस गरिरहेका छौं।'
आयुषा सिंखडा दुर्घटनाका प्रत्यक्षदर्शी
मूलपानी तिवारी टोलका प्रत्यक्षदर्शीका अनुसार स्कुटर लडेपछि अर्कोतिरबाट तीव्र गतिमा आएको बसले आयुषालाई घातक ठक्कर दिएको थियो। तस्बिर: सुरेन्द्र फुयाल
पुस २५ गते दिउँसोको स्कुटर दुर्घटनास्थलका प्रत्यक्षदर्शीका कुरा सुनौं।
मिथुन यादव र नितेश साहु भारत बिहारवासी हुन्। उनीहरू मूलपानी तिवारी टोलमा सडक छेउ सिवांश मोटरसाइकल वर्कशपमा काम गर्छन्।
दिउँसो अचानक दुई मोटरसाइकल ठोक्किएर आवाज आयो – डड्यांग।
मिथुनले भने, 'मोटरसाइकलसँग स्कुटर ठोक्कियो। स्कुटरमा भएकी महिलाको टाउको यता फर्किएको थियो। हामी बचाउन जान खोज्दै थियौं। चाबहिलतिरबाट स्पिडमा आएको बसले उनलाई किचिहाल्यो। घिसारेर २० मिटर पर ल्यायो। पछिपछि अर्को बस थियो। एउटै लाइनमा चल्ने ती बस रेस खेल्दै रहेछन्।'
उनले थप भने, 'त्यो बस १० सेकेन्ड मात्रै ढिलो भएको भए हामी उनलाई यता तानेर बचाउन सक्थ्यौं।'
दुर्घटनाको कहालीलाग्दो दृश्य प्रत्यक्ष देखेका मिथुनले आफूले दुई दिनसँग खाना खान पनि नसकेको बताए।
थलीको सडकमा स्थानीयवासीले आक्रोश पोखे। करिब दर्जन बसमा तोडफोड गरे। स्थिति शान्त भएपछि यातायात समिति र परिवारजनबीच भएको छलफलमा मृतकको परिवारलाई यातायात समितिले १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने वचन दियो।
चाबहिल साँखु सडक धेरै ठाउँमा चौडा बनिसकेको छ। ती खण्डमा सवारी साधन तीव्र गतिमा कुदाइन्छन्।
पुस २५ मा आयुषाको ज्यान गएको स्थानभन्दा करिब ५ सय मिटर पश्चिममा नोर्लिङ होटल अगाडि हालै अर्को ठूलो दुर्घटना भएको थियो। तीव्र गतिमा कारसँग ठोक्किँदा कात्तिक २ गते राती थली बस्ने बलेफी सिन्धुपाल्चोकका ३६ वर्षीय मिङ्मार पाख्रिनको ज्यान गएको थियो।
सडक सुरक्षा उपकरणको माग
ट्राफिक सचेतना कार्यक्रममा सहभागी केटाकेटीहरू। तस्बिरः ट्राफिक प्रहरी।
चाबहिल–साँखु सडकमा घातक सडक दुर्घटना हुने क्रम जारी रहेकाले स्थानीयवासीले कागेश्वरी मनोहरा नगरपालिकालाई सडक सुरक्षाका लागि सिसी टिभी क्यामरा र सडक बत्ती राख्न दबाब दिएका छन्।
आयुषाका काका रूपकसहितको टोलीले मेयर उपेन्द्र कार्कीलाई सडक थप सुरक्षित बनाउन ठोस पहल गर्न अनुरोध गर्दै ज्ञापनपत्र समेत दिइसकेका छन्।
पीडितका परिवारजन दुर्घटनाको अनुसन्धान र त्यसको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै सडक सुरक्षा अवस्थामा सुधार गर्न सकिने आशा व्यक्त गर्छन्।
सडक सुरक्षा लगायत विषयमा लामो समयदेखि सुक्ष्म अनुसन्धान गरिरहेका युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डका अनुसन्धानकर्ता पुष्पराज पन्तको भनाइमा सडक यातायात क्षेत्रमा व्यापक सुधार नगरी नेपालीहरू सडक प्रयोग गर्दा मर्ने वा मारिने क्रम रोक्न असम्भव छ।
उनले भने, 'हरेक व्यक्ति सुरक्षा उपायबारे सजग नभएसम्म स्थिति उस्तै रहनेछ।'
अनिवार्य हेलमेट लगाउनुपर्ने नियम समेत पालना नभएकामा उनी दुःखी छन्।
'सडक सुरक्षा अवस्था सुधारका लागि प्रधानमन्त्री आफै लागिपरेर व्यापक नीतिगत तथा कानुनी सुधार गर्नुपर्छ। प्रधानमन्त्री र पूरै तीन तहका सरकारी संयन्त्र अघि नसरेसम्म सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मानवीय क्षति आधाले घटाउने नेपालको अन्तर्राष्ट्रिय वाचा पूरा हुन सक्दैन,' उनले भने।
ट्राफिक प्रहरी पुस २७ देखि जनचेतना जगाउन ट्राफिक सप्ताह पनि मनाउँदै छ। तर घातक दुर्घटना रोकिँने वा कम हुने कुनै लक्षण छैन।
यो लेख लेख्दै गर्दा थलीकी आयुषा सिंखडाको दुखान्तको जस्तै अर्को खबर आयो — पुस २९ गते मौलाकालिकामा जिप र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। त्यहाँ पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा गैडाकोट–२ का ३१ वर्षीय युवा चालक रणबहादुर थापाको मृत्यु भयो।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal