सरकारी गाडी चोरी पछि चार लाखमा बेच्ने युवा पुर्पक्षका लागि थुनामा गएका छन्।
गाडी किन्ने व्यवसायी जिल्ला अदालत कैलालीको आदेशले साढे तीन लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।
गत भदौ २५ गते जेन्जी आन्दोलनको असहज परिस्थितिको मौका छोपी युवाहरूको एक समूहले कैलालीको धनगढी उपमहानगरपालिका-५ स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, तत्कालीन डीन डा. होमनाथ जोशीको सरकारी निवासबाट बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरी भएको थियो।
सरकारी गाडी लैजाने मुख्य योजनाकार धनगढी-१३ का २३ वर्षीय निराजन कुँवर थिए।
उनले सरकारी गाडी फिर्ता गरेनन्। बरू जिल्लाकै घोडाघोडी नगरपालिका-२ का काष्ठ व्यवसायी ३१ वर्षीय अर्जुन कार्कीसंग भेटेर सल्लाह गरे। घोडाघोडी-२ मै कार्कीको ‘लिगासैनी सः मिल तथा फर्निचर उद्योग’ छ।
गाडी चोरी गर्ने कुँवर र व्यवसायी कार्की लगायतका बीचमा गाडीको स्वरूप परिवर्तन गर्ने योजना बनेको प्रहरीले जनाएको छ। योजना अनुरूप सरकारी गाडी छिमेकी देश भारतको ग्यारेजमा पुर्याइएको थियो।
सरकारी गाडीको चेसिस नम्बर मेटाएर कार्कीको पुरानो २०१२ मोडलको गाडीको चेसिस हाल्न लगाए।
सरकारी गाडीको नम्बरको ठाउँमा कार्कीकै सोही पुरानो गाडीको नम्बर प्लेट सु.प.प्र ०१–००१ च ३६८७ टाँगे। त्यसपछि कुँवरको समुहले कार्कीलाई गाडी चार लाखमा बेचेको तथ्य खुलेको कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले बताए।
‘सरकारी गाडी चोरी पछि निराजन कुँवरको समुहले स्वरूप परिवर्तन गरी निजी नम्बर राखेर चार लाख रूपैयाँमा व्यवसायी अर्जुन कार्कीलाई बिक्री गरेको तथ्य खुलेको छ,’ विष्टले भने, ‘तर, त्यसरी किनबेच गर्दा कुनै कागजात गरेको वा आधिकारिक रूपमा पैसा लेनदेन गरेको कागजात भने गरेको प्रमाण उपलब्ध छैन।’
प्रहरी संगको बयानका क्रममा कुँवरले आधा करोड बढी मूल्य पर्ने डीन कार्यालयको गाडी चोरी पछि चार लाखमा बेचेको बयान गरेको विष्टले बताए।
चोरीमा संलग्न व्यक्ति मध्ये हालसम्म थप एक जनाको पहिचान खुलेको तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हाल पुर्पक्षका लागि थुनामा रहेका कुँवरले गाडी चोरीमा को–को संलग्न थिए भन्ने कुरामा मौन बस्ने गरेको तथा गाडी बिक्रीको पैसा ककसले लिए भन्ने खुलाएका छैनन्।
गाडी चोरीमा अरू पनि पक्राउ परेपछि उनीहरूबाट थप कुराहरू खुल्ने प्रहरी निरीक्षक विष्टले बताए।
डीन कार्यालयबाट गत भदौ २५ गते दिउँसै जोरजबरजस्ती उठाएर लगेर स्वरूप परिवर्तन गरी निजी नम्बर प्लेट राखेर कार्कीले ११ महिनादेखि व्यक्तिगत रूपमा चलाउँदै आएका थिए। लामो अनुसन्धान पछि प्रहरीले गत असार ८ गते कार्कीको ‘लिगासैनी सःमिल तथा फर्निचर उद्योग’ बाट गाडी नियन्त्रणमा लिएको थियो।
त्यसपछि उक्त गाडीलाई नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, काठमाडौंबाट विशेषज्ञ प्राविधिकहरू कैलाली बोलाएर जाँच र अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट सो गाडी डीनको कार्यालयको गाडी भएको तथ्य पुष्टि भएपछि प्रहरीले असार १९ गते कार्कीलाई पक्राउ गरेको थियो।
कार्कीको बयानका आधारमा प्रहरीले असार ३० गते कुँवर विरूद्ध पक्राउ पुर्जी लिएको थियो।
‘चोरी तथा लिखत सम्बन्धी कसुर’मा पक्राउ पुर्जी जारी भए पछि साउन ९ गते कुँवर काठमाडौंको कीर्तिपुरमा पक्राउ परेका थिए। पक्राउ पछि उनलाई धनगढी ल्याइएको थियो।
जिल्ला अदालतले साउन १३ गते थुनछेक बहस पछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। गाडी किन्ने कार्कीलाई साढे तीन लाख धरौटी बुझाए छोड्न आदेश दिएको थियो।
यो पनि: जसले चोरीको सरकारी गाडी किनेर स्वरूप परिवर्तन गरी निजी नम्बर राखेर ११ महिना चलाए