चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। यसमध्ये सबभन्दा बढी क्षति रसुवा र नुवाकोटमा भएको छ।
हामीले यसअघि नुवाकोटका त्रिशूली र ढुंगे बजारमा पुगेको क्षति र पछिल्लो अवस्थाबारे बिदुर नगरपालिका-१ का वडाध्यक्षसँग कुरा गरेका थियौं।
यो स्टोरीमा रसुवा र नुवाकोट जिल्लामा पर्ने अर्को क्षतिग्रस्त ठाउँ बेत्रावतीको बजारको पछिल्लो अवस्था के छ भनेर उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङसँग कुरा गरेका छौं।
उनका अनुसार बेत्रावती रसुवाको तल्लो भेगमा पर्छ।
यहाँका अधिकांश घरमा क्षति पुगेको छ भने मानवीय क्षतिको यकिन विवरण उपलब्ध भएको छैन।
'कुनै ठाउँ बाँकी भएको भए पो यो ठाउँ भनौं। भएजति सबै लग्यो। केही बाँकी छैन,' उनले भनिन्।
उनले क्षतिको विस्तृत विवरण दिँदै भनिन्, 'वडा नम्बर ५ खाल्टे क्षेत्रमा अस्थायी बसोबास गर्दै आएका ३०० घरधुरी थिए। ती सबै सखाप भए। ठूलो बेत्रावती बजारमा पनि एउटै घर बचेको छैन। रसुवातर्फको बेत्रावतीमा अन्दाजी ५० भन्दा बढी घर थिए होलान्, ती पनि केही बाँकी छैनन्।'
त्यस्तै, नुवाकोटतर्फ पर्ने बेत्रावती बजारमा पनि १०० देखि १५० वटा घर क्षतिग्रस्त भएको उनले जानकारी दिइन्।
उनका अनुसार उत्तरगयामा रहेका चारवटा जलविद्युत आयोजनामा पनि क्षति पुगेका छन् भने वडा नम्बर १, ४ र ५ का एक-एक विद्यालयमा क्षति पुगेको छ।
'हिमालयन बैंकका कर्मचारी समेत बाढीमा परेको थाहा भएको छ। बैंकका एक जना कर्मचारी, पालिकाका चार जना कर्मचारी हराइरहेका छन्। पालिकाका दुईवटा भवनमा पनि क्षति पुगेको छ,' उनले भनिन्।
बाढीले थुप्रै मानिस सम्पर्कविहीन रहे पनि त्यसको यकिन विवरण आउन बाँकी रहेको उनले बताइन्।
त्रिशूली बजारमा बाढी सुरू हुनु पौने घन्टाअगाडि नै सूचना प्राप्त भएकाले धेरैलाई समयमै सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाले मानवीय क्षति कम भएको बिदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका थिए। उत्तरगयामा भने त्यो सुविधा प्राप्त भएन।
यहाँ बाढी आउनुभन्दा १०-१५ मिनेट अगाडि मात्रै जानकारी पाएको उपाध्यक्ष गुरूङले बताइन्।
'हामीलाई १०-१५ मिनेटको मात्रै समय भयो। धेरै समय पाएनौं। त्यसबीच पनि हामीले सकेजति व्यक्तिलाई फोन गर्न थाल्यौं। तर सबैसँग सम्पर्क हुन सकेन,' उनले भनिन्।
उनका अनुसार बिहान पौने १० बजेतिर बाढी बेत्रावती आइपुगिसकेको थियो। कम समयमै बाढी बजार प्रवेश गरिसकेकाले सुरक्षित उद्धार गर्न नभ्याएको उनले बताइन्।
'एकदमै बुलेट जसरी बाढी आयो, मान्छेहरूलाई खबर गर्दागर्दै सबै तहसनहस भइसकेको थियो,' उनले भनिन्।
सुरूमा रसुवाको टिमुरे क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि अन्यत्र पनि खबर गर्न थालिएको थियो। चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा मिसिएको बाढीले आसपासका धेरैजसो बस्तीमा क्षति पुर्याएको छ। अहिलेसम्म १८ जनाको शव फेला परेको नेपाल प्रहरीको तथ्यांक छ। कति घरधुरीमा र धनजनको क्षति पुगेको भन्ने यकिन भइसकेको छैन।