रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजना क्षेत्रमा ठूलो क्षति पुग्नुका साथै मानवीय जोखिम उच्च बनेको छ।
प्रारम्भिक विवरण अनुसार निर्माणाधीन तथा परीक्षण उत्पादनको क्रममा रहेका दुई ठूला जलविद्युत आयोजनाका कर्मचारी र कामदारहरू सम्पर्कविहीन भएका छन् भने सयौँ उद्धारको पर्खाइमा छन्।
२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक र १० जना अन्य कर्मचारी हालसम्म सम्पर्कविहीन रहेका छन्।
विद्युत गृह (पावरहाउस) नजिकै करिब २०० जना कामदार र १० जना कोरियन प्राविधिकहरू सुरक्षित स्थानको खोजीमा उद्धारको पर्खाइमा बसिरहेका छन्।
त्यस्तै, परीक्षण उत्पादनको क्रममा रहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाका २५ जना कर्मचारी र ३५ जना कामदार पनि बाढीपछि पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।
बाढीका कारण सो क्षेत्रको सञ्चार तथा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएकाले उद्धार कार्य र क्षतिको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको छ।
प्रभावित क्षेत्रका अन्य जलविद्युत आयोजनाहरूमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
स्थानीय प्रशासन र सुरक्षा निकायलाई द्रुत उद्धारका लागि परिचालन गर्ने प्रयास भइरहेको छ।