भोटेकोशीको माथिल्लो तटमा पानीको बहाब बढेको सूचनापछि तल्ला तटीय क्षेत्रमा खोजी तथा उद्धार रोकिएको छ।
पानीको बहाब बढेको सूचनापछि धादिङ क्षेत्रको त्रिशूली नदी तटीय क्षेत्रमा बिहानैदेखि जारी खोजी तथा उद्धारको काम रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले जानकारी दिए।
'तटीय क्षेत्रमा बिहानैदेखि खोजी कार्य जारी थियो। माथिल्लो भेगमा पानीको बहाब पुनः बढेको सूचना आए पछि तत्काललाई ती कामहरू रोकेका छौं,' उनले भने।
तटीय क्षेत्रमा अहिले माइकिङ गरी सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।
बुधबार तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले तटीय क्षेत्रमा विध्वंश मच्चाएको थियो।
बाढी साम्य भएपछि बिहीबारदेखि नै नदी तटीय क्षेत्रमा खोजीकार्य गरिएको थियो। त्रिशूली बहने धादिङतर्फ मात्रै शुक्रबार बिहानसम्म ४० जनाको शव भेटिएको थियो।
त्यस्तै बाढीले पृथ्वी राजमार्गका सडकमा लेदो थुपरेको छ। बिहीबारदेखि नै लेदो हटाउने काम भए पनि सकिएको छैन।
'पछिल्लो सूचनापछि त्यो काम पनि तत्काललाई रोकिएको छ,' डिएसपी दाहालले सेतोपाटीसँग भने।
उनका अनुसार गजुरी र गल्छी क्षेत्रमा थुप्रिएको लेदो बेलुकासम्म हटाइसक्ने तयारी थियो।
'अब पुन काम सुरू गरेर लेदो हटाइसक्न पनि समय लाग्छ,' उनले भने।
सरकारले भने तिब्बततर्फ माथिल्लो क्षेत्रमा पानीको बहाव बढेको भए पनि तत्कालै ठूलो जोखिम देखिएको अवस्था नरहेको जनाएको छ।
यद्यपि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा लेदोसहित पानीको बहाव पुनः बढेकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले माथिल्लो क्षेत्रमा पानीको बहाव बढेको सूचना आए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
'आँत्तिनुपर्ने अवस्था छैन। तर सतर्क रहन सबैलाई आग्रह गर्न चाहन्छौं,' मन्त्री पोखरेलले भने।
सम्बन्धित समाचारः चीनले नेपाल सरकारलाई भन्यो- पानीको बहाव बढेको हो, ताल फुटेको छैन