उत्तरी अन्दमान क्षेत्रमा विकसित भएर बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेको छ।
यसको प्रभावले बुधबार देशका अधिकांश भूभागमा बादल लागेको छ। काठमाडौंसहित ६ वटा प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली अहिले थप शक्तिशाली बनेर 'डिप डिप्रेसन' मा परिणत भएको छ।
वायुमण्डलको कुनै क्षेत्रमा वरिपरिको भन्दा हावाको चाप कम हुने अवस्थालाई न्यूनचापीय क्षेत्र भनिन्छ। यस्तो ठाउँमा वरिपरिको हावा भेला भएर माथितिर उठ्ने भएकाले बादल बन्ने र वर्षा हुने सम्भावना बढ्छ।
न्यूनचापीय प्रणाली कति बलियो छ भन्ने आधारमा मौसमविदहरूले त्यसलाई विभिन्न तहमा वर्गीकरण गर्छन्। त्यसैले 'डिप डिप्रेसनमा परिणत भयो' भन्नुको अर्थ न्यूनचापीय प्रणाली अझ बलियो भयो भन्ने बुझिन्छ।
अहिले समुद्री सतहमाथि विकास भइरहेको यो प्रणाली बुधबार राति वा बिहीबार बिहान जमिनी तहमा प्रवेश गर्ने सम्भावना रहेको उनले बताए।
'पहिले लो प्रेसर थियो भने अहिले चाहिँ डिप डिप्रेसन नै भइसकेको छ। अहिले बंगालको खाडीको मध्य-पश्चिमी र आसपासको उत्तर-पश्चिमी भू-भागमा छ,' दाहालले भने, 'अब आज राति वा भोलिबाट जमिनमा आउन सक्छ।'
यही प्रणालीको प्रभावले बुधबार देशभरजसो बादल लागेको र विभिन्न स्थानमा हल्का वर्षा भएको उनले बताए।
'आज लगभग देशभरि नै बादल लागेको अवस्था छ। हल्का वर्षा सबैतिर भइरहेको छ। खासमा बादलहरू आइरहेको त्यही प्रणालीका कारण हो,' उनले भने, 'बुधबार रातिबाट वर्षाको गतिविधि केही बढ्ने देखिएको छ।'
उनका अनुसार राति कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। काठमाडौंमा भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।
बिहीबार बिहानसम्म वर्षा धेरै सक्रिय नहुने भए पनि दिउँसोपछि बढ्दै जाने मौसमविद दाहालले बताए।
'बिहानीपख पनि त्यस्तो धेरै पानी पर्ने अवस्था छैन। बिस्तारै-बिस्तारै पूर्वतिरबाट पानी पर्ने अनि मध्याह्नपछि कोशी, बागमती, गण्डकी हुँदै लुम्बिनीसम्म पर्न सक्छ,' उनले भने।
बिहीबारदेखि देशका धेरैजसो स्थानमा मंगलबार र बुधबारको तुलनामा वर्षा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने दाहालले बताए। बिहीबार, शुक्रबार र शनिबार गरी आगामी तीन दिन धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।
विशेषगरी मध्य तथा पश्चिम नेपालमा यसको प्रभाव बढी देखिने प्रारम्भिक आकलन छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको दाहालले बताए।
'यसको अलिकति बढी प्रभाव पूर्वमा भन्दा ठ्याक्कै मध्य नेपाल र पश्चिमतिर बढी हुने देखिन्छ,' उनले भने, 'बढी प्रभाव लुम्बिनी र गण्डकी क्षेत्रतिर पर्ने देखिन्छ।'
तर पूर्वी नेपालमा वर्षा नहुने होइन। कोशीसहित पूर्वी क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए।
नेपालमा किन वर्षा हुन्छ?
बंगालको खाडीमा बनेको यो प्रणाली नेपालभित्रै प्रवेश गरेर वर्षा गराउने भने होइन।
समुद्रमा बनेको यो प्रणालीसँग सम्बन्धित क्षेत्रमा फैलिएको हावा र त्यसले सिर्जना गर्ने मौसमीय अवस्थाको प्रभाव नेपालसम्म आइपुग्दा यहाँ वर्षा हुने हो।
सामान्यतया मनसुन बेला पूर्वबाट पश्चिमतर्फ सर्ने प्रणालीको प्रभाव पनि पूर्वदेखि पश्चिमसम्म फैलिन्छ। अहिलेको प्रणाली भने उत्तर–पश्चिमतर्फ सर्ने भएकाले यसको प्रभाव मध्य तथा पश्चिम नेपालमा बढी देखिने दाहालले बताए।
जमिनी सतहमा आएपछि यो प्रणाली कति कमजोर हुन्छ भन्ने कुरा त्यसपछिको अवस्थाले निर्धारण गर्नेछ।
महाशाखाको प्रारम्भिक पूर्वानुमान अनुसार प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ।
विशेषगरी पश्चिमी क्षेत्रमा शनिबार दिउँसोसम्म वर्षा हुने र त्यसपछि क्रमशः कम हुँदै जाने देखिएको दाहालले बताए।
१५ जिल्लामा प्रतिकार्य, २९ जिल्लालाई सतर्क रहन आग्रह
पछिल्लो अद्यावधिक अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले १५ जिल्लामा प्रतिकार्यका लागि तयारी गर्न भनेको छ। २९ जिल्लामा भने सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले अत्यन्त जरूरी नभई टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलाई आमनागरिकलाई सुसूचित गर्न तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले आग्रह गरेको छ।
जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिम भएका स्थान र नदी–खोला किनारका बासिन्दालाई विशेष चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ।