दसैं सुरू हुन अब एक साता मात्रै बाँकी छ। गाउँघर फर्किने तयारीमा रहेका यात्रु हुन् वा किनमेल र दसैंको तयारीमा जुटेका परिवार — यतिबेला धेरैको चासो एउटै छ, मौसम कस्तो होला?
पछिल्ला केही दिनको मौसम भने अनुमान गर्न त्यति सजिलो छैन।
बिहान आकाश खुलेको हुन्छ। केही बेरमै बादल जम्मा हुन्छन् र एक्कासि ह्वार्र पानी पर्छ। फेरि केही छिनमै पानी रोकिएर टन्टलापुर घाम लाग्छ।
आज बुधबार पनि देशका धेरै भूभागमा मौसमले यसरी नै आफ्नो रूप फेरिरह्यो।
आइतबारबाटै देखिन थालेको यो क्रम शनिबारसम्म जारी रहने मौसमविदहरूले बताएका छन्।
उनीहरूका अनुसार, शनिबारसम्म छिटपुट र ठाउँ अनुसार फरक फरक परिमाणको वर्षा भइरहे पनि आइतबारदेखि वर्षाको सम्भावना घट्दै जानेछ।
आखिर दसैंको मुखमा मौसम किन छिनछिनमा बदलिइरहेको छ?
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशका केही भागमा मनसुनी वायुको प्रभाव कायम छ भने पश्चिमी वायु पनि सक्रिय छ।
पश्चिमी वायु बलियो भएका ठाउँमा छोटो समयमा ठूलो मात्रामा पानी परिरहेको उनले बताए।
'अहिले पश्चिमी वायुको प्रभावसँगै मनसुनी वायुको पनि प्रभाव छ। त्यसैले पश्चिमी क्षेत्र, पश्चिम बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको क्रम बढी देखिएको हो,' उनले भने।
पश्चिमी वायुको प्रभाव पश्चिम नेपालमा बढी भएकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पश्चिम बागमती र गण्डकीमा वर्षाको गतिविधि बढी देखिएको लामिछानेले बताए।
त्यसमाथि अहिले माथिल्लो वायुमण्डलमा रहेको 'ट्रफ' पनि सक्रिय छ। ट्रफ भनेको वायुमण्डलमा बनेको कम चापको क्षेत्र हो। यसले चिस्यानयुक्त हावा माथि उठ्न मद्दत गर्छ र माथि उठेको हावाबाट बादल बन्ने प्रक्रिया तीव्र हुन्छ।
त्यसैले ट्रफ सक्रिय भएका बेला वर्षा, मेघगर्जन र कतिपय ठाउँमा छोटो समयमा भारी वर्षा हुन सक्छ।
'पश्चिमी वायु र मनसुनी हावामा रहेको चिस्यान मिसिँदा बादल विकास हुन्छन्। त्यसैले कतिपय ठाउँमा छोटो समयमा धेरै पानी पर्ने र बादल हटेपछि फेरि रोकिने अवस्था देखिएको हो,' उनले भने।

केही ठाउँमा केही घन्टामै ठूलो पानी
मौसमको यो उतारचढावको असर बुधबार बिहानको वर्षाको तथ्यांकमा पनि देखिन्छ।
अर्घाखाँचीको सिमलपानीमा तीन घन्टामै ८५ मिलिमिटर वर्षा मापन भएको छ। तर त्यही ठाउँमा एक घन्टाको मापन १.२ मिलिमिटर मात्रै छ।
रोल्पाको जंगारमा तीन घन्टा अवधिमा ६०.६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ। त्यहाँ एक घन्टामा मात्रै ३४.४ मिलिमिटर पानी परेको थियो।
बर्दियाको औरही खोलामा ६६.४ मिलिमिटर, दौलतपुरमा ६०.८ मिलिमिटर, गुलरियामा ४२.८ मिलिमिटर र मानपुरमा ३५ मिलिमिटर पानी तीन घन्टाभित्रै परेको छ।
काठमाडौं उपत्यकामा पनि छोटो समयमा उल्लेख्य पानी परेको छ।
भक्तपुरको चाँगुनारायणमा तीन घन्टामा ३० मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा २३.६ मिलिमिटर, बुढानीलकण्ठमा २५.२ र कपनमा २५.६ मिलिमिटर वर्षा मापन भएको छ।
अर्थात्, अहिलेको वर्षाको विशेषता लामो समयसम्म पानी परिरहनु मात्रै होइन, छोटो समयमै धेरै पानी पर्नु र त्यसपछि फेरि मौसम खुल्नु पनि हो।
दसैंमा सडकमार्ग हुँदै गाउँघर फर्किनेहरूको संख्या बढ्ने बेला भएकाले यस्तो छिनछिनको मौसमले यात्राको योजना बनाउनेहरूलाई पनि प्रभावित गर्न सक्छ।
बिहीबार घटे पनि शुक्रबार फेरि बढ्न सक्छ
तत्कालै मौसम पूर्ण रूपमा खुल्ने अवस्था भने नरहेको लामिछानेले बताए।
बिहीबार पनि पश्चिमी भूभागमा वर्षाको गतिविधि रहनेछ। तर बुधबारको तुलनामा पश्चिमतिर वर्षा केही घट्ने उनको भनाइ छ।
तर शुक्रबार फेरि वर्षाको गतिविधि बढ्ने सम्भावना छ।
माथिल्लो वायुमण्डलको ट्रफ क्रमशः पूर्वतिर सर्दै गएपछि पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि पनि घट्दै जाने लामिछानेले बताए।
'ट्रफ अहिले सक्रिय अवस्थामा छ। यो बिस्तारै पूर्वतिर सर्दै जाँदा पश्चिमी क्षेत्रमा पानी पर्ने क्रम कम हुँदै जान्छ। त्यसपछि पूर्वतिर केही वर्षा हुन सक्छ,' उनले भने।
शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना कायमै रहनेछ। तर त्यस बेलासम्म पश्चिमी वायु कमजोर बन्दै जाने भएकाले वर्षाको क्रम र मात्रा पनि कम हुँदै जाने उनले बताए।
'शनिबारसम्म पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना रहन्छ। तर ट्रफ पूर्वतिर सर्दै कमजोर हुँदै गएपछि पश्चिममा वर्षा कम हुन्छ। आइतबारदेखि भने मौसममा सुधार आउँदै जान्छ,' उनले भने।
अर्थात्, दसैंको तयारी र घर फर्किने चहलपहल बढ्दै गर्दा मौसम पूर्ण रूपमा स्थिर भने भइसकेको छैन। तर अहिले सक्रिय प्रणाली पूर्वतिर सर्दै कमजोर हुँदै गएसँगै आइतबारदेखि सुधार आउने संकेत छ।
तीन दिनसम्म वर्षा, केही ठाउँमा भारी पनि
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीनदिने पूर्वानुमानले पनि आगामी तीन दिनसम्म वर्षा हुने देखाएको छ।
बुधबार राति देशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
बिहीबार दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारीसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बिहीबार राति भने मध्यमसम्मको वर्षाको सम्भावना छ।
शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
शुक्रबार राति भने मध्यमसम्मको वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
माथिल्लो वायुमण्डलको अस्थिरताले पनि बढाउँछ तीव्रता
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार अहिले देखिएको छिनमै ह्वार्र पानी पर्ने र केही समयमै रोकिने अवस्थाको अर्को कारण माथिल्लो वायुमण्डलको अस्थिरता हो।
उनका अनुसार पछिल्ला केही दिनयता पश्चिमी वायुसँग सम्बन्धित एकपछि अर्को प्रणाली सक्रिय रहेकाले वर्षा भइरहेको छ।
भारतबाट प्राप्त माथिल्लो वायुमण्डलको तथ्यांकले पनि अहिलेको वातावरण अस्थिर रहेको देखाएको उनले बताए।
'माथिल्लो वायुमण्डल अस्थिर हुँदा चिस्यानयुक्त हावा माथि उठेर ठूलो बादल बन्न सक्छ। त्यही बादलका कारण छोटो समयमा भारी वर्षा हुने, हावाहुरी चल्ने र कतिपय ठाउँमा असिना पनि पर्न सक्ने अवस्था हुन्छ,' पोखरेलले भने।
पश्चिमबाट पूर्वतिर सर्दै गएको यो प्रणाली कमजोर हुँदै गएपछि वर्षाको मात्रा पनि घट्दै जाने उनको भनाइ छ।
***