इन्डियन प्रिमियर लिग (आइपिएल) ले यतिबेला विश्वभर क्रिकेटको माहोल बनाएको छ।
कोरोना भाइरसको महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आइपिएलले दिएको छ।
तर कोरोनाका कारण नेपालमा हुने गरेकामुख्य तीन चर्चित क्रिकेट लिगहरू धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ।
कोरोनाको चपेटामा परेका आयोजकले सरकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दाबी गरेका छन्।
मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्वभर फैलिएको कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भयो।
वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो। तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकको तयारी प्रचारमै सीमित भयो।
नेपालमा फ्रेन्चाइज लिगको अवधारणा सहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ती जारी गरेर अनिश्चितकालका लागि स्थगित भइसकेको छ।
प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नु पर्दा खेलाडीदेखि विज्ञापनदाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।
कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन। आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ।
यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंका धेरै छ। महामारीकाबीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने शाहीले बताए।
नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन्।