१५ वर्षीय युवा ब्याटिङ स्टार वैभव सूर्यवंशीले आईपीएल २०२६ को एलिमिनेटर खेलमा सनराइजर्स हैदरावाद विरुद्ध २९ बलमा ९७ रनको बिस्फोटक पारी खेल्दै क्रिकेट इतिहासका धेरै ठूला कीर्तिमानहरू तोडेका छन्।
खेलमा सूर्यवंशीको ब्याटिङ प्रेरित राजस्थान रोयल्सले ४७ रनको जित निकालेर दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ।
क्रिस गेलको 'छक्का' रेकर्ड तोडियो
वैभवले यस सिजनमा कुल ६५ छक्का प्रहार गर्दै क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडेका छन्। गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गरेका थिए।
गेलले ५९ छक्का प्रहार गर्न ४५६ बल खेलेका थिए, तर वैभवले मात्र २६६ बलमा ६५ छक्का प्रहार गरेर यो उपलब्धि हासिल गरे। यो कुनै पनि टी-२० प्रतियोगितामा एकै सिजनमा प्रहार गरिएको सबैभन्दा धेरै छक्का हो।
प्लेअफमा सबैभन्दा छिटो अर्धशतक
वैभवले हैदरावाद विरुद्ध मात्र १६ बलमा अर्धशतक पूरा गरे। यो आईपीएलको प्लेअफ (वा नकआउट) खेलमा प्रहार गरिएको संयुक्त रूपमा सबैभन्दा छिटो अर्धशतक हो। यसअघि सुरेश रैनाले सन् २०१४ मा किंग्स इलाभेन पञ्जाब विरुद्ध १६ बलमै अर्धशतक बनाएका थिए।
ऐतिहासिक स्ट्राइक रेट र रन
वैभव यस सिजन १५ इनिङ्समा २४२.८५ को स्ट्राइक रेटले ६८० रन बनाउन सफल भए। टी-२० क्रिकेटको इतिहासमा २०० भन्दा बढीको स्ट्राइक रेट राखेर ६०० भन्दा बढी रन बनाउने उनी विश्वकै पहिलो ब्याटर बनेका छन्।
एकै खेलमा छक्काको वर्षा
भारतीय रेकर्ड: हैदरावाद विरुद्धको खेलमा उनले १२ छक्का प्रहार गरे। यो आईपीएलको एकै इनिङ्समा कुनै पनि भारतीय ब्याटरले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो। उनले आफ्नै रेकर्ड बराबरी गरेका हुन्।
प्लेअफ रेकर्ड: प्लेअफ खेलमा १२ छक्का प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। उनले शुभमन गिल (१० छक्का) को रेकर्ड तोडे।
सबैभन्दा छिटो १० छक्का: वैभवले मात्र २४ बलमा १० छक्का पुरा गरे। क्रिस गेलले आफ्नो १७५ रनको ऐतिहासिक पारीमा १० छक्का प्रहार गर्न २७ बल लिएका थिए।
पावरप्ले (सुरुवाती ६ ओभर) मा प्रभुत्व
हैदरावाद विरुद्धको खेलमा वैभवले प्रहार गरेका १२ मध्ये ८ वटा छक्का पावरप्लेमै आएका थिए, जुन आईपीएलको रेकर्ड हो।
उनले यस सिजन पावरप्लेमा मात्रै ४९० रन बनाए। यसअघि डेभिड वार्नरले २०१६ मा पावरप्लेमा ४६७ रन बनाएका थिए। उनले यस सिजन ५ पटक पावरप्लेमै अर्धशतक पूरा गरे।
अन्य कीर्तिमान
३००+ स्ट्राइक रेट: ९० भन्दा बढी रन बनाएको इनिङ्समा ३३४.४८ को स्ट्राइक रेट राख्ने उनी पहिलो ब्याटर हुन्।
१०+ छक्काका इनिङ्स: वैभवले यस सिजन ३ पटक र करियरमा कुल ४ पटक एकै खेलमा १० भन्दा बढी छक्का प्रहार गरेर क्रिस गेलको बराबरी गरेका छन्।