नेपाल र बंगलादेशबीच तीन खेलको टी-२० सिरिज हुने पक्का भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को संयुक्त पहलमा आगामी मार्चमा सिरिज हुने भएको हो।
नेपाल र बंगलादेशबीचको क्रिकेट सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ।
क्रिकेट मैदानमा हुने सिरिजमा मात्र सीमित नराखी नेपालको समग्र क्रिकेट विकासमा समेत दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने क्यानको भनाइ छ।
बिसिबीले नेपालको महिला क्रिकेट, उमेर समूहका क्रिकेटको विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्नेछ।
साथै, भविष्यमा नेपाल 'ए' टोलीका भ्रमण तथा द्विपक्षीय 'ए' टोली कार्यक्रमहरूलाई समेत प्रोत्साहन गर्दै खेलाडी विकास, प्रतिस्पर्धात्मक अनुभव र नेपालको क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
खेल तालिका
पहिलो खेल – मार्च २६ २०२७
दोस्रो खेल – मार्च २८ २०२७
तेस्रो खेल – मार्च ३० २०२७
सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्।