अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउन फिफासँग माग गरेका छन्। ट्रम्पका दूतको मागको विषयमा फाइनान्सियल टाइम्सले समाचार प्रकासित गरेको छ।
फुटबलको पावरहाउस मानिने इटाली यसपटक पनि विश्वकपमा छनोट हुन सकेन। बोस्निया एण्ड हर्जगोभिनासँग पराजित भएपछि इटाली बाहिरिएको थियो।
राष्ट्रपति ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच केही समयदेखि सम्बन्ध बिग्रिएको छ। ट्रम्पले इसाई धर्मगुरु पोपको आलोचना गरेपछि मेलोनी रिसाएकी थिइन्। त्यसैले इटालीलाई विश्वकपमा ठाउँ दिलाएर ट्रम्प मेलोनीसँगको सम्बन्ध सुधार्न चाहन्छन्।
अमेरिका र इजरायलको हवाई आक्रमणमा इरानका शीर्ष नेता मारिएपछि इरानले अमेरिकामा हुने विश्वकप खेल्न सुरक्षाको चिन्ता व्यक्त गरेको थियो। ट्रम्पका दूतले यही मौका छोपेर इरानको ठाउँमा ४ पटकको विजेता इटालीलाई राख्नुपर्ने तर्क गरेका छन्।
इरानले आफू विश्वकप खेल्न तयार रहेको र सहभागी हुने स्पष्ट पारेको छ। उता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि इरानले छनोट चरण पार गरेर आएकाले उसैले खेल्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘इरानी टोली पक्कै आउनेछ, हामी उनीहरूलाई स्वागत गर्न चाहन्छौँ।’
फिफाको नियमअनुसार यदि कुनै देशले खेलबाट नाम फिर्ता लियो भने त्यसको ठाउँमा कसलाई राख्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार फिफासँग मात्र हुन्छ। यसअघि लिओनेल मेसीको टोली इन्टर मियामीलाई पनि विशेष अधिकार प्रयोग गरेर क्लब विश्वकपमा प्रवेश दिइएको उदाहरण छ।
इटाली फिफा वरीयतामा १२औँ स्थानमा छ र विश्वकपमा छनोट नभएका देशहरूमध्ये यो सबैभन्दा माथिल्लो स्थानमा रहेको देश हो। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकपमा इटालीलाई छिराउन ट्रम्प प्रशासनले भित्री रूपमा ठुलो कसरत गरिरहेको छ।
तर, इटालीका नागरिकहरू भने ट्रम्पले इरानसँग गरिरहेको युद्ध र महँगीका कारण ट्रम्पसँग खुसी छैनन्। यस्तोमा फुटबलमार्फत सम्बन्ध सुधार्ने ट्रम्पको यो प्रयास सफल हुन्छ वा हुँदैन भन्नेमा सबैको चासो छ।