दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
कर्णाली प्रदेश रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। एपीएफसँग अंक बाँडेपछि सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ।
खेलको सातौँ मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एपीएफका गणेश पुलामीले १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। २६औँ मिनेटमा अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनायो।
पहिलो हाफमा एक गोलले पछाडि परेको सुदूरपश्चिमका लागि दोस्रो हाफको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।
यसअघि भएको खेलमा सुदूरपश्चिम मधेश प्रदेशसँग पराजित भएको थियो।
शुक्रबार नै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।