फ्रान्सको मर्सेलीमा युरोपा लिग फुटबल खेलअघि घरेलु टोलीका समर्थक र बुल्गेरियाको लेभ्स्की सोफियाका समर्थकबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
मर्सेली र लेभ्स्की सोफियाबीचको खेलबीच घरेलु र पाहुना टोलीका समर्थकबीच कुटाकुट भएको हो।
खेल सुरू हुनुअघि नै घरेलु टोलीका केही समर्थक पाहुना टोलीका समर्थक बसेको प्यारापिटमा प्रवेश गरेका थिए।
उनीहरूले पछि बुल्गेरियाली समर्थकको समूहलाई लखेट्दै गएको देखिएको बिबिसीले जनाएको छ।
त्यसक्रममा दुवै टोलीका समर्थकबीच कुटाकुट भएको हो।
मर्सेली प्रहरीका अनुसार घाइते पाँच जनालाई आँखामा चोट, टाउकोमा चोट र हात भाँचिएको अवस्थामा अस्पताल लगिएको थियो।
अन्य ६ जनाको घटनास्थलमै उपचार गरिएको थियो।
घाइते सबै बुल्गेरियाली नागरिक रहेको प्रहरीले जनाएको छ।
घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छैन।
खेलका लागि छुट्याइएको प्यारापिटमा बुल्गेरियाका करिब ५०० समर्थक थिए।
सुरक्षा अधिकारीहरूले स्थिति नियन्त्रणमा लिएपछि निर्धारित समयमै खेल सुरु भएको थियो। यद्यपि मध्यान्तरका बेला पनि समर्थकबीच केही झडप भएको थियो।
घटनाप्रति लेभ्स्की सोफियाका प्रशिक्षक जुलियो भेलास्क्वेजले दुःख व्यक्त गर्दै यसलाई फुटबलका लागि अस्वीकार्य बताएका छन्।
'यो फुटबलका लागि अस्वीकार्य घटना हो। म घटनामा परेका समर्थकको पक्षमा छु। केही गम्भीर घटना नभएको होस् भन्ने आशा गर्छु। यो अवस्थाले मलाई निकै दुःखी बनाएको छ,' उनले भने।
मर्सेलीका प्रशिक्षक ब्रुनो जेनेसियोले पनि घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्। 'हाम्रो समाजमा हिंसात्मक घटना बढिरहेका छन्। यो निकै दुःखद कुरा हो,' उनले भने।
मर्सेली क्लबले घटनाको वास्तविक परिस्थिति बुझ्ने काम भइरहेको जनाएको छ।
बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि सामाजिक सञ्जालमार्फत घटनाको भिडिओले आफूलाई स्तब्ध बनाएको बताएकी छन्।
समर्थकले आफ्नो टोलीलाई समर्थन गर्दा सुरक्षाको चिन्ता गर्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ छ।
झडपका बाबजुद खेलमा मर्सेलीले लेभ्स्की सोफियालाई १–० गोलले हराएको थियो।
खेलको २८औँ मिनेटमा अमिन गुरीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो।