अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरिएको निलम्बन फिर्ता लिन नेपालको सरकारी निकाय राष्ट्रिय खेलकुदु परिषदलाई अल्टिमेटम दिएको छ। निलम्बन आगामी वैशाख २१ भित्र फिर्ता गर्न फिफाले अल्टिमेटम दिएको हो।
फिफाले बुधबार एन्फालाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो। एन्फालाई पठाएको उक्त पत्रमा यसको जानकारी खेलकुद परिषदलाई दिन पनि भनिएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले आफ्नो अनुमतिविना तथा विधान शंसोधन नगरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि एन्फाको निर्वाचन स्थगित भएको थियो भने फुटबल गतिविधि ठप्प भएका थिए।
विवाद बढेपछि राष्ट्रिय खेलकुद परिषद, एन्फा, एएफसी र फिफाबीच गत अप्रिल १३ मा संयुक्त अनलाइन बैठक भएको थियो।
उक्त छलफलका लागि फिफाले खेलकुद परिषद र एन्फालाई धन्यवाद दिएको छ भने खुला र अर्थपूर्ण छलफलको कदर समेत गरेको छ।
तर खेलकुद परिषदको निर्णयलाई फिफाले फेरि पनि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै असन्तुष्टि प्रकट गरेको छ।
फिफाको भनाइ छ, ‘एन्फालाई जारी निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधानहरू संशोधन गर्न र जिल्ला संघहरूलाई आफ्ना विधान संशोधन गरी चुनावी साधारण सभा गर्न निर्देशन दिइएको थियो। यसले एन्फाको स्वायत्तता र गतिविधिहरूमा ठूलो असर पारेको छ। हामीले पहिले नै उल्लेख गरे अनुसार यो फिफा र एएफसीको सदस्य संघका रूपमा एन्फाको दायित्व विपरित स्पष्ट 'तेस्रो-पक्षीय हस्तक्षेप' को विषय हो।’
फिफाले समस्याको समाधान निस्कनेमा विश्वस्त रहेको र खेलकुद परिषदले आफ्नो अडान पुनर्विचार गर्दै आफ्नो निर्णय फिर्ता लिन पनि आग्रह गरेको छ।
‘हामी यस समस्याको समाधान निस्कनेमा विश्वस्त छौं र राखेपलाई आफ्नो अडानमा पुनर्विचार गर्दै ४ मे २०२६ सम्ममा उक्त निर्णय फिर्ता लिन प्रोत्साहित गर्दछौं। त्यसपश्चात्, हामी सबै सरोकारवालाहरूसँग साझा सहमति खोज्नका लागि रचनात्मक संवादमा संलग्न हुन पाउँदा खुसी हुनेछौं,’ फिफाको भनाइ छ।
