गेटाफेलाई पराजित गर्दै बार्सिलोना लगातार दोस्रो पटक 'ला लिगा'को उपाधि जित्ने नजिक पुगेको छ। प्रतिद्वन्द्वी रियल मड्रिडले रियल बेटिससँग बराबरी खेलेर अंक बाँडेपछि बार्सिलोनाले त्यसको ठूलो फाइदा उठायो। अब लिगमा ५ खेल बाँकी रहँदा बार्सिलोना ११ अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ।
खेलको ४५ औं मिनेटमा फेरमिन लोपेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। स्टार मिडफिल्डर पेड्रिको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले पोस्टको दिशा दिएका थिए।
म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कस रासफोर्ड यो खेलमा सुरुमा बेन्चमा थिए। ६० औं मिनेटमा रुनी बार्डजीको स्थानमा मैदान छिरेका उनले काउन्टर अट्याकमा उत्कृष्ट गोल गरे। रोबर्ट लेवान्डोस्कीले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै रासफोर्डले आफ्नै हाफबाट बल अगाडि बढाएर गेटाफेका गोलकिपरलाई चकित पार्दै सिजनको सातौँ गोल पूरा गरे।
बार्सिलोनाका मुख्य खेलाडी लामिन यमल ह्यामस्ट्रिङ चोटका कारण सिजनभरका लागि मैदान बाहिर छन्। उनको अनुपस्थितिमा पनि बार्सिलोनाले गेटाफेको चुनौतीलाई सजिलै पन्छायो। यता युरोपियन प्रतियोगिताको दौडमा रहेको गेटाफेले बराबरीको प्रयास गरे पनि रासफोर्डको गोलले उनीहरूको आशा समाप्त पारिदियो।
अब बार्सिलोना आफ्नो २९ औं ला लिगा उपाधिभन्दा मात्र केही पाइला टाढा छ। टोलीको लय र अंक तालिकाको अन्तर हेर्दा बार्सिलोना च्याम्पियन बन्ने लगभग निश्चित देखिएको छ।